लकडाउनले जुटाईदिएको बिकासनिर्माण, सडक बिस्तार संगै कल्भट र टेवापर्खालको काम धमाधम हुँदै

२०७७, १९ बैशाख शुक्रबार १३:०३

भबिन्द्र गौतम १९, वैशाख, पाल्पा । कोरोना महामारी नियन्त्रण गर्न मुलुक लकडाउनमा गएको डेढमहिना पुग्न लाग्यो । कोरोना संक्रमण रोक्ने उद्देश्य प्राप्तिमा सफल भएको मानिएको छ । यस बिचमा उत्पादन, वितरण र उपभोगको सन्तुलनमा नकारात्मक प्रभाव परेपनी पाल्पामा भने राजमार्गको स्तरउन्नतिको काम भैरहेको छ ।

लकडाउनले सवारी साधन नचलेको मौका छोपी पाल्पाका दुई राजमार्गमा सडक विस्तार कार्य भइरहेको छ । सवारी सधान बन्द गरेर समय निश्चित सडक चौडा गर्नुपर्ने बाध्यता भएका राजमार्गहरुमा लकडाउनमा धमाधम काम भएको छ यो कामको सबै क्षेत्रबाट प्रसंशा गरिएको छ । सिद्धार्थ राजमार्गको गौडेपुल र चर्चरे बिचको खण्ड र तानसेन–तम्घास सडक अन्तर्गत तानसेन नगरपालिकको ढुङ्गाखानी–सामाकोट खण्डमा सडक बिस्तारको काम भएको हो । सडक डिभिजन कार्यालयले यस आर्थिक बर्षमा सक्ने लक्ष्यले तिनाउ खोला र दोभान खोलाका २ वटा पक्की पुलहरु निर्माण कार्य संचालन गरेको छ ।

ढुङ्गाखानी–सामाकोट खण्डमा तानसेन नगरपालिकाले उपभोक्ता समिति मार्फत ६३ लाख बजेट विनियोजन गरी ३ किलोमिटर सडक चौडा गर्ने काम गरेको छ । विनियोजित बजेटबाट सडक विस्तारसंगै कल्भट, टेवापर्खाल लगायतका काम रहेको छ । सवारी साधन नचेलको मौका छोपेर सडक बिस्तार गर्न दुई वटा मेशिन मार्फत निरन्तर काम गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।

सडक डिभिजन कार्यालय पाल्पा मार्फत सिद्धार्थ राजमार्ग गौडेपुल र चर्चरे बिचको खण्डमा ४ वटा घुम्ती काट्ने काम भएको छ । राजमार्ग दैनिक ३ पटक सवारी सधान बन्द गरेर लकडाउन अगाडी कटान गरिएको थियो । दुई वटा मेशिनले काम भएकोहुँदा हालसम्मको लकडाउनमा करिब ५० प्रतिशत कटान सकिएको छ । प्रदिप कन्ट्रक्सन रुपन्देहीले एक करोड ५ लाख ९१ घुम्ती काट्ने, नाली निर्माण र कालोपत्रे कार्यको ठेक्का सम्झौता गरेको थियो । घुम्ती काट्ने सगै सडक कार्यालयले बर्षादमा सिद्धार्थ राजमार्ग सिद्धबाबा क्षेत्रको जोखिमलाई वाइपास सडक रुपमा संचालन गर्ने उद्देश्यले २ वटा पक्की पुलहरु निर्माण कार्य जारी राखेको छ । बर्षाद् हुन थालेकाले सडक नाली सरसफाइको काम र लकडाउन लम्बिएमा सिद्धार्थ राजमार्ग मर्मत सम्भारको काम थाल्ने सडक कार्यालयले जनाएको छ । राजमार्गमा सवारी चाप कम भएको मौका परेको र पक्की पुल बैकल्पिक सडक खुलाउने उद्देश्यले सुरक्षाका उपायहरु अपनाएर निरन्तर काम गरिएको सडक डिभिजिन कार्यालय पाल्पाका डिभिजन प्रमुख मुकुन्द राज अधिकारीले बताउनु भयो । जिल्ला स्तरीय कोरोना संक्रमण रोकथाम सहजिकरण समितिले सयममै सडक बिस्तारको काम सक्न लकडाउन काम गर्ने निर्णय गरेको हो । दैनिक ३ पटक राजमार्ग बन्द गरेर गरिएको काम लकडाउनमा सहज भएको छ भने राजमार्ग बन्दबाट यात्रुलाई हुने सास्ती पनि कम भएको छ ।

Comments

ताजा खबर