माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गर्यो ।

२०७७, १९ बैशाख शुक्रबार ११:४१

 

सन्तोष गहतराज पाल्पा, बैशाख १९ , जिल्लाको माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो । 

रासायनिक मल सहकारीमार्फत वितरण हुँदै आएको छ । गाउँपालिकाको क्षेत्र अधिकार भित्र रहेका आठ वटा सहकारी संस्थाहरूमार्फत कृषकहरुलाई एउटै मूल्यमा सहज र व्यवस्थित तरीकाले मल वितरण गर्नका लागि अधिकतम मूल्य निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

बुधबार बसेको गाँउपालिका र रासायनिक मल विक्रि वितरणको कारोबार गर्ने सहकारी संस्थाहरूको सञ्चालक एवं प्रतिनिधि सहितको बैठकले भौगोलिक आधारमा उपभोक्ताहरूलाई विक्रि गर्ने मूल्य निर्धारण गरेको थियो । बैंठकले वडा नं.१,२ र ३ मा युरिया प्रति बोरा ९ सय, फुटकर प्रति किलो २० मूल्य निर्धारण गरेको छ । त्यस्तै डिएपि प्रति बोरा २ हजार ४ सय, फुटकर प्रति किलो ५०, पोटास प्रति बोरा १ हजार ७ सय, फुटकर प्रति किलो ३५ रूपैयाँ निर्धारण गरिएको छ । वडा नं.४ का कृषकहरुका लागि युरिया प्रति बोरा ९ सय ५०, फुटकर प्रति किलो २१, डिएपि प्रति बोरा २ हजार ४ सय ५०, फुटकर प्रति किलो ५१, पोटास प्रति बोरा १ हजार ७ सय ५०, फुटकर प्रति किलो ३६ रहेको छ । वडा नं.७ का कृषकका लागि युरिया प्रति बोरा १ हजार, फुटकर प्रति किलो २२, डिएपि प्रति बोरा २० हजार ५ सय, फुटकर प्रति किलो ५२, पोटास प्रति बोरा १ हजार ८ सय, फुटकर प्रति किलो ३७ निर्धारण गरिएको छ । त्यस्तै वडा नं.८ मा युरिया प्रति बोरा १ हजार ५०, फुटकर प्रति किलो २३, डिएपि प्रति बोरा २ हजार ५ सय ५०,फुटकर प्रति किलो ५३,पोटास प्रति बोरा १ हजार ८ सय ५०, फुटकर प्रति किलो ३८ रूपैयाँ निर्धारण गरेको छ । मूल्यमा एकरुपता कायम भएसँगै कृषकहरु हर्षित भएका छन् । विगतमा मल, विउविजनहरु सहकारीमार्फत खरिद विक्री भए पनि टाठाबाठा व्यापारीहरुले सहकारीसँग मिलेर महंगो मूल्यमा विक्री गर्दा कृषकहरु समस्यामा पर्ने गरेका थिए । गाउँपालिकाले मूल्य निर्धारण गरेपछि भने कृषकहरुले चर्को मूल्यमा मल विउ खरिद गर्ने बाध्यता भने हट्ने गाउँपालिकाले विश्वास लिएक छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु