पीसीआर परीक्षण अब निजी प्रयोगशालाले पनि गर्न पाउने ।

२०७७, १५ बैशाख सोमबार १९:२६

काठमाडौं । कोरोना परीक्षणको दायरा बढाउँदै लगेको सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिनेगरी प्रयाेगशालाकाे न्यूनतम मापदण्डसम्बन्धी निर्देशिका जारी गरिएकाे जानकारी दिए । मन्त्रालयमा अ‌ायाेजित पत्रकार सम्मेलनमा उनले भने– ‘प्रयोगशालाको न्यूनतम मापदण्ड सम्बन्धी निर्देशिका ल्याएका छौँ, जसले मापदण्ड पूरा गर्ने निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षण गर्ने बाटो खुला गरेको छ ।’

तर, पीसीआर परीक्षण गर्न चाहाने निजी प्रयोशालाहरुले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने उनले स्पष्ट पारे । मन्त्रालयले ‘इन्ट्रीम गाइडलाइन फर दि स्टाब्लिसमेन्ट एन्ड अप्रेशनलाइजेशन अफ मलिकुलर ल्याबोरेटरी फर कोभिड १९’ नामको निर्देशिका जारी गरेकाे हाे ।

प्रवक्ता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर परीक्षण सुरु भएको जानकारी समेत दिए । योसँगै देशभर १६ ठाउँबाट पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न सकिनेछ ।

पीसीअ‌ार विधिमा मानिसकाे थ्राेट स्वाब संकलन गरेर प्रयाेगशालामा परीक्षण गरिन्‍छ । पीसीआरबाट परीक्षण गरेपछि मात्र कोरोना संक्रमण भए/नभएकाे पुष्टि हुन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु