लकडाउनको अवस्था के हुन्छ, कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक सुरु

२०७७, १३ बैशाख शनिबार १३:५१
COVID-19 Lockdown Nepal

१३ वैशाख, काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणको पुष्टि भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् । सबैभन्दा धेरै उदयपुरमा २८ जना सहित देशका १२ जिल्लामा संक्रमण देखिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउनलाई जारी राखेको छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख १५ गतेसम्म छ । लकडाउन लम्बिँदै जाँदा दैनिक श्रम गरेर गुजारा गर्नेहरु समस्यामा परेको भन्दै अब जोखिमक्षेत्र पहिचान गरी लकडाउनलाई कतै खुकुलो र कतै कडा बनाउनु पर्ने आवाज उठ्दै आएको छ । जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । लकडाउनको स्वरुप कस्तो बनाउने भन्नेबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए । उनले अहिलेसम्म लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएको बताए । उच्चस्तरीय समितिको सुझावलाई हेरेर लकडाउन सम्बन्धी सरकारले निर्णय गर्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु