आमाको सम्मानमा एक दिन !

२०७७, ११ बैशाख बिहीबार ०८:४८

“मातृदेवो भव” बैशाख कृष्णपक्षको औंसी तिथीलाई मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस वर्षको मातातीर्थ औंसी २०७७ साल बैशाख ११ गते बिहीवार लोकतन्त्र दिवस सँगै परेको छ । संसारमा सबै भन्दा प्रिय शब्द र पवित्र नाता भनेको आमा हो । हरेक मानवजाती गर्भावस्थाको करिव ९ महिना आमाको पेटमा र जन्मपश्चात उनको काखमा रहेर हुर्केका हुन्छौ र उनकै आर्शिवाद र मार्गनिर्देशनमा आफ्नो जिवनलाई सदैव अगाडी बढाउदछौ । आमा शब्द सुन्दा जति प्यारो छ त्यो भन्दा पनि अनुभव गर्दा संसारलाई नै जीते जस्तो लाग्दछ । आमा पृथ्वीको हरेक सजिव प्राणी ले पाउदछ भने अनुभव र काख भने सबैलाई नसीव हुदैन ।मानवमै पनि सबैले आमाको साथ पाउने भाग्य लिएर आएको हुँदैन तर उहाँको आर्शिवाद, ममता र स्नेहभने कहिल्यै छुट्दैन किनकी आमा नै जिवन हुन् । हिन्दू धर्मका शास्त्रहरुमा आमालाई पिताभन्दा पनि उच्च स्थानमा राखिएको पाईछ । जसले गर्दा माताहरुको रुपमा त्रिशक्ति (देवि, दुर्गा र काली) लाई महाशक्तिको रुपमा मानी अन्य सबै देवि देवताहरुले पनि नारीको पुजा र सम्मान गरेको हाम्रो विभिन्न धर्म शास्त्रमा अध्ययन गर्न पाईन्छ । राधेश्याम, गौरीशंकर, सिताराम, राधाकृष्ण आदि नामाच्चारण गर्दा माताको नै नामलाई अग्र भागमा रहेको पाइन्छ । त्यति मात्र नभई पृथ्वी, जल, गाई, रुखविरुवा आदीलाई पनि आमाकै रुपमा सम्मान गरी पुजा गर्ने गर्दछौ । हरेक नयाँ कार्यको शुरु गर्दा पनि हामी आमाकै स्वरुपमा रहेका पञ्चकन्या (अहिल्या, द्रोपदी, कुन्ती÷सिता, तारा, मन्दोदरी) लाई अगाडी राखेर शुरु गर्ने गर्दछौ जसले गर्दा हामीले चालेका हरेक असल कदमहरुले उचाई वा सफलता चुम्छ भन्ने कुरामा पुरा विश्वास गर्दछौ ।

आमा भएका छोरा छोरीहरु टाढा टाढा भए पनि त्यस दिन आफ्नो आमा भएको स्थानमा जाने र आमा सँग समय विताउने र उहाँलाई खुसी र सुखी राख्नलाई हरसम्भव प्रयास गरेका हुन्छौ भने आमा दिवंगत भएकाहरुले पनि उक्त दिन आफ्नो आमाको संझनामा पित्रृ पुजा लगाउने, विभिन्न आश्रमहरुमा गएर त्यहाँका बृद्धबृद्धाहरुलाई खाना खुवाउने, दानदक्षिण प्रदान गर्ने र आमाको सम्झनामा दिन विताउने गर्दछन् ।

वैशाख कृष्णपक्षको औंसी तिथिको दिन हामीले आफ्ना जन्मदिने वा कर्मदिने आमाहरुलाई मिठा मिठा भोजन ग्रहण गराउने, नयाँ नयाँ लुगा लगाईदिने र उहाँ सँग साथैमा बसि बढि भन्दा बढि खुसी राख्न प्रयत्न गर्छौ । आमा भएका छोरा छोरीहरु टाढा टाढा भए पनि त्यस दिन आफ्नो आमा भएको स्थानमा जाने र आमा सँग समय विताउने र उहाँलाई खुसी र सुखी राख्नलाई हरसम्भव प्रयास गरेका हुन्छौ भने आमा दिवंगत भएकाहरुले पनि उक्त दिन आफ्नो आमाको संझनामा पित्रृ पुजा लगाउने, विभिन्न आश्रमहरुमा गएर त्यहाँका बृद्धबृद्धाहरुलाई खाना खुवाउने, दानदक्षिण प्रदान गर्ने र आमाको सम्झनामा दिन विताउने गर्दछन् । त्यसै पनि हिन्दू धर्मअनुसार औंसी तिथिलाई पितृपक्षको तर्पmबाट महत्वपूर्ण दिन वा तिथिको रुपमा मानिन्छ । जुन सुकै औंसीको दिनमा पनि पितृश्राद्ध गर्न महत्वपूर्ण मानिन्छ । औंसीको दिन चन्द्रमा सुर्य र पृथ्वीको विचमा परेको हुन्छ र त्यसदिन अध्यारो देखिने चन्द्रलाई नयाँ तिथिको शुरुवात लिई हाम्रो धर्म शास्त्र अनुसार आमा तर्फको साईनो सँग जोडेर उल्लेख गरीने भएको भएर हामीले चन्द्रमा लाई चन्द्रमामा (मामा) भनेर पनि सम्बोधन गर्ने गरेका छौ । सानो बालबालिकालाई साँझा चन्द्रोदयको समयमा भुलाउनको लागि पनि “उ हेरत चन्द्रमामा आउनु भयो ।” भनेर भन्ने, सुन्ने र अनुभव गर्ने गरेका छौं । त्यसैले औंसीको यो सम्बन्ध चन्द्रमा संग पनि जोडेर हेर्न सकिन्छ र औंसीको दिनलाई अति सम्मानित दिनको रुपमा पनि मनाईन्छ । यस वर्ष वैशाख ११ गते आमाको मुख हेर्ने दिन परेको छ तर दुःखको कुरा विश्वभरी फैलिएको कोभिड १९ (कोरोना) भाईरसको कारणले धुमधामले मनाउन त पाइएन र पनि आफ्नो आमासंग संगै भएकाहरुको लागि उत्सवले धेरै महत्वराख्ला तर आमाबाट टाढा भएकाहरुले भने विभिन्न संचार माध्यमको प्रयोग गरी आमालाई खुसी राख्न प्रयास गर्नु पर्नेछ ।
हुनत आमा औसीं कहिले देखि र किन मनाउन थालियो भन्ने ईतिहास त फेला परेको छैन् तर काठमाण्डौको थानकोट नजिक मातातिर्थ भन्ने स्थान छ र जसलाई हिन्दू समुदायका व्यक्तिहरुले अतिनै पवित्र मानेर त्यस स्थानमा गएर पुजाआज गर्ने र आमालाई सम्झने गर्दछन् । मातातिर्थ महिमामा बतायनुसार अनुसार त्यस हालको मातातिर्थ पहिले ठूलो चौर थियो रे काठमाण्डौ वरपरका गोठालाहरु दिन भरि आफ्ना गाई वस्तुलाई चराउन त्यस स्थानमा लाने गर्दथे एक दिन त्यी गोठालाहरु मध्यको एकले आफुले खाजास्वरुप लगेको रोटीको एक टुक्रा खसेछ खोजने क्रममा नभेटियपछि उनले अन्ने गोठालाहरुलाई जानकारी गराएछन् । त्यसपछि अन्ने गोठालाहरुले पनि क्रमश त्यसठाउँमा रोटीको टुक्रा खसालेछन् र पछि हेर्दा केहि रोटिको टुक्रा हराएछ र बुझ्दा जस जसको आमा दिवंगत हुनु भएको थियो उनिहरुको नै रोटी हराएको बुझियछ पछि यि कुरा गाउँलेहरुले थाहा पाई सकेपछि त्यस दिन औसींको दिन र आमाहरु नभएकाहरुको मात्र रोटी हराउनुलाई त्यस दिन आमाले आफ्ना सन्तानले दिएको सामाग्री वा खानेकुरा स्वीकार गर्नुहुन्छ भन्ने मान्यता अनुसार त्यस दिन मातातिर्थलाई पवित्र धार्मीक क्षेत्रको रुपमा विकाश गरी त्यहाँ पोखरी समेत बनाएको कुरा अहिले पनि देख्न पाइन्छ र त्यसै दिन वैशाख कृष्णपक्षको औंसी तिथिलाई आमाऔसीं भनिएको भन्ने पढ्न पाइन्छ । अहिले हरेक वर्षको आमाऔसींको दिन मातातिर्थमा ठूलो मेला लाग्छ र लाखौं भक्त्तजनहरु त्यसक्षेत्रमा गई मिष्ठान्नका विभिन्न परिकारहरु चढाउने, पित्रृ तर्पण दिने, आमाको नाममा श्राद्ध गर्ने, दान दिने र पुजा गर्ने गरेका हुन्छन् ।
अब प्रश्न आउँछ के आमा जस्तो पवित्र सम्बन्धलाई एक दिनको सम्झनाले पुग्दछ त ? के हामी सबैले आफ्नो जन्मदिने आमालाई सधै मायाँ गरेका छौ त ? के मातृस्वरुपमा रहेका हरेक महिलाहरुको सम्मान गरेका छौ त ? उत्तर खोज्ने बेला भएको छ, आज विश्वमा महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेको छ, बालिकाहरु बलात्कृति भई रहेका छन्, महिलाहरुलाई विभिन्न बहानामा जिउँदै जलाउने देखि घर निकाला गर्ने, मानसिक यातना दिने क्रम रोकिएको छैन । आज पनि हामी महिला अधिकारका मात्र कुरा गरेर हिडिरहेका छौ तर महिलालाई अधिकार मात्र दिएर होइन हामीले उहाँहरुलाई सम्मान दिन सक्यौ भने, उहाँहरुको उत्तरदायित्वलाई स-सम्मान स्वीकार गर्‍यौ भने परिवार सुखि हुन्छ परिवार सुखि भए विश्व सुखि हुन्छ भन्ने कुरा बुझ्नेु पर्दछ । त्यसैले त हामिले भन्ने गरेका छौ “जननी जन्म भुमिश्च स्वर्गादपि गरिएसी” । अब देखि कुनै पनि आमाहरु खान नपाएर रोहिरहेको देख्न नपरोस्, औषधि उपचार नपाएर मृत्यू वरण गरेको सुन्न नपरोस, कुनै पनि महिलाहरु बलात्कृत भएको सुन्न नपरोस्, कुनै पनि आमा बृद्धिआश्रममा गरेर कष्टकर जिवन विताईरहको देख्न नपरोस र हरेक महिलाहरु आमाका प्रतिकहुन, देविका प्रतिक हुन त्यसैले समाजमा हुने महिला हिंसाका घटनाहरुलाई निमिट्यान्न बनाई शुन्दर विश्व निर्माणका लागि हामी सबै एक जुट भएर लागौं । आमा औंसी एक विशेष दिन वा तिथि भए पनि मानव जातिको लागि हरेक दिन आमाको मुख हेर्ने दिन बनोस् हरेक दिन आमाहरुलाई मिठा मिठा मिष्ठान्न भोजन गराउन पाईयोस् । हरेक दिन आमाको काखमा रमाउन पाइयोस् । दुःखको हरेक घडिमा आमाको साथ र सहयोग मिलोस् । शुसिका हरेक क्षणहरु आमा संग साट्न पाइयोस् र जिवन सँधै आमाकै सेवामा लगाउन पाइयोस र आमासँग रमाउन पाइयोस् आजको यो शुभ दिनमा संसारभरीका सम्पूर्ण आमा (मातृशक्ति) हरुलाई मेरो कोटी–कोटी नमन छ । राधे राधे ।।।

Comments

ताजा खबर