वग्नासकालीका गाउँपालिकाका कार्यपालिका सदस्य र कर्मचारीले राहत काेषमा सहयाेग ।

२०७७, १० बैशाख बुधबार ०७:३७

सन्ताेष गहतराज , पाल्पा १० बैशाख , जिल्लाको बगनासकाली गाउपालिकाका जनप्रतिनिधि र कर्मचारीले राहत कोषमा रकम सहयोग गरेका छन् ।

देशमा कोरोना संक्रमणको जोखिमले जारी लकडाउनमा बिपन्न श्रमिक।समुदायलाई दैनिक गुजारा चलाउन समस्या भएर राहत स्वरुप खाद्यान्न सहयोग गर्ने हेतुले खोलेको राहत कोषमा गाउँकार्यपालिकाका सदस्य र कार्यरत कर्मचारीले कोषमा नगद सहयोग गरेका हुन् । उनीहरुले भत्ता तथा मासिक तलबबाट रकम सहयोग गरि समस्यामा हातेमालो संगै रकमबाट खाद्यान्न किनेर केही परिवारको छाक टार्न ठुलो मद्धत पुग्छ भनेर नगद सहयोग गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो । कार्यपालिका सदस्यको प्रति सदस्य ३ हजारका दरले १७ जनाको ५१ हजार र गाउँपालिकाका स्वास्थ्य शाखा बाहेकका कर्मचारीहरुबाट गरि १ लाख २५ हजार रकम कोषमा राखेको अध्यक्ष बस्यालले जानकारी दिनुभयो । अधिकृत तहको ५ दिन बराबरको र सहायक स्तरको ३ दिन बराबरको तलब कट्टी गरि बिपद् व्यवस्थापन कोषमा राखिएको गाउँपालिकाले जनाएको छ । 

देशमै चुनौतीको रुपमा खडा भएको कोरोनाको सन्त्रासमा जनप्रतिनिधि र कर्मचारीले काममा खटिरहेपनी राहत कोषको रकम केही ठाउँमा हिनामिना भएको गुनासो आइरहेका बेला बगनासकालीका कार्यपालिका सदस्य र कर्मचारीले भने आफैले कोषमा रकम दिएर दु:खमा नागरिकको सेवामा तल्लिन भएका छन् । 

कार्यपालिकाको बैठकका अबसरमा कार्यपालिका सदस्य र स्वयं कर्मचारीले कोषमा सहयोग गर्ने निर्णयलाई सबैले आत्मसाथ गरेको बताउदै गाउपालिका अध्यक्ष बस्यालले देशको जटिल परिस्थिति र बिपन्न समुदायको खातिर स्थापित कोषमा सहयोग दिने सबै जनप्रतिनिधि र कर्मचारीलाई हृदय देखि नै धन्यवाद दिनुभयो । यसैबिच गाउँपालिकाको बिपद् व्यबस्थापन कोषमा सहयोग जुटिरहेको प्रति धन्यवाद दिदै दोस्रो चरणको राहत बितरण प्रक्रिया शुरु गरेको बताउनुभयो ।

पहिलो चरणमा ३ सय ८१ जना बिपन्नलाई राहत बितरण गरेको बगनासकालीले बैशाख ११ गतेसम्म दोस्रो चरणको राहत लिने परिवारको सिफारिस र छानबिन गरि वडा बिपद् व्यवस्थापन समितिले नगरपालिकामा दिइसक्ने समय तोकेको छ । राहत पाउने व्यक्ति ज्याला मजदुरी गर्ने, कुनै पनि पेशा रोजगारी नभएको परिवार र बालक पोषणभत्ता बाहेक कुनै पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाहेकको हुनुपर्ने तोकेको छ । यसैगरी गाउँपालिकाले किसानलाई बीउ बितरण गर्ने निर्णय गरेको छ । गाउपालिकाका व्यवसायिक किसानलाई अनुदानमा बीउ बितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु