अर्घाखाँची समाज जापानद्धारा क्यान्सर पीडीत पन्थीलाई रकम हस्तान्तरण ।

२०७६, १८ फाल्गुन आईतवार १९:५४

जापान । अर्घाखाँची समाज जापानले ब्लड क्यान्सर पीडीत मिना पन्थीलाई आर्थिक सहयोग गरेको छ । अर्घाखाँची मालारानी गाउपालीका ९ गोखुङ्गा निवासी १८ वर्षीय पन्थीलाई उपचारको लागी नगद १ लाख ७० हजार सहयोग गरेको छ ।

समाजका  सल्लाहकार दिपक थापाले शनिबार काठमान्डौको सिभिल अस्पतालमा पुगी रकम हस्तान्तरण गर्नुभएको छ । थापाले बिगत ४ महिना देखी ब्लड क्यानसर संग लडिरहेकी पन्थीलाई  भेटी शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उहाँले पन्थीको उपचारका लागि आवश्यक परेमा समाजले थप सहयोग गर्ने समेत परिवारलाई आश्वासन दिनुभयो ।

सामान्य परिवारमा जन्मिएकी पन्थीको उपचार खर्च महङ्गो भएकाले पन्थीका परिवारले सहयोगका लागि अपिल गरेका थिए । २ छोरा र ५ छोरी रहेको परिवारमा पीडीत पन्थी कान्छी छोरी हुन । क्यान्सर पीडीत पन्थीको उपचारका लागि समाजले जापानमा अभियान संचालन गरेको थियो । समाजका उपाध्यक्ष नेत्र पन्थीको पहलमा मिना पन्थी उपचार सहयोगार्थ अभियान संचालन गरी रकम संकलन गरेको समाजका महासचिव नारायण भुसालले जानकारी दिनुभयो । 

अभियानमा जापानमा रहेका अर्घाखाँचीबासी संगै केही जापानी नागरिकले पनि आर्थिक सहयोग गरेका थिए । संकलित रकम फोरेक्स जापान मार्फत पठाईएको  थियो । जापानमा रहेका  अर्घाखाँचीबासीहरुको साझा घर अर्घाखाँची समाज हो । २०१५ सालमा स्थापना भएको समाजले यस अघि पनि विभिन्न अभियान संचालन गरी जिल्लामा आईपरेका भैपरी समस्यालाई सहयोग गर्दै सहयात्री बन्दै आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु