बलेवा, बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गतेआएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएकोथियो ।
लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभरउनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ। “हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया बद्लिएको छ”, प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भन्नुभयो, “सबै जानकारीसहितकोविवरण देशभर पठाएका छौँ, सबैको अवस्था अज्ञात छ ।”
जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ ।भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रक्रिया शुरु भएको छ । बाढीपहिरोमा परी ढोरपाटननगरपालिका–९ बोबाङका ३१ वर्षीय जीतबहादुर घर्ती मगर, नौै वर्षीय शेसन विक, चार वर्षीय रवि विक, २२ वर्षीय मनकुमारी विक, २१ वर्षीया टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनिषा विक बेपत्ता हुनुहुन्छ ।
त्यस्तै, सोही ठाउँकै ५५ वर्षीया कौशिला पुल, २६ वर्षीय विलास पुन, ५५ वर्षीया तुलमती घर्ती, पाँच वर्षीय विराज विक, १० महिने शिशुउमिसा विक, तीन वर्षीया करली पुन, आठ वर्षीय मोहन विक र १२ वर्षीया समुन्द्र विक बेपत्ता हुनुहुन्छ ।
बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने एकजना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेकोतथ्याङ्क नगरपालिकासँग छ ।