मापसे गरी कार हुईक्याउँदा पैदलयात्रुको मृत्यु , बीमा दावी भुक्तानी भएन

२०७६, २४ पुष बिहीबार २०:०२

काठमाडौं । उच्च घरानियाँका २१ बर्षिय पृथ्वी मल्लको बसाई बिदेश थियो । छोटो समयका लागि नेपाल आए । घुमफिर र रमाइलो गर्न मन लाग्यो । यसैक्रममा दरबारमार्गस्थित डिस्कोमा रातभरि खाईपिई गरे, त्यो पनि सुन्दरीहरुसँग । विदेशमा ऐय्यासी जीवन । नेपालमा उच्च घरानियाँ भएपछि जे गर्न पनि छुट । सवारी चालक अनुमति पत्र समेत थिएन नै मादक पदार्थ सेवन गरेर उभिन नसक्ने अवस्थामा थिए । रातभरि दरवारमार्गमा रोमान्स गरेका युवतीहरुको साथ छोड्न सकेनन्, सँगै कारमा लिएर हुईकिए । बुढानिलकण्ठ नगरपालिका–८ बस्ने मल्लले अर्धचेत अवस्थामा कार लिएर हुईकिदै थिए ।कपनदेखि माथि र हात्तिगौडाको भित्र उनको कारले फुटपाथमा हिडिरहेकी पैदलयात्रीलाई ठक्कर दियो । गाडी समेत क्षतविक्षत भयो ।

घटना मंसिर २८ गते शनिबार विहान नौ बजेको समयको हो । तत्कालै स्थानीबासी आएर उद्धार गर्न खोज्दा गोरखा घर भएकी लिला देवकोटाको ज्यान गइसकेको थियो । चालकलाई गाडीबाट बाहिर निकालियो । ह्वारह्वार्ती रक्सी गन्हाएको थियो । स्थानीयले प्रहरी बोलाएर तत्कालै मेडिकल चेकजाँच गर्न माग गरे । त्यतिबेलासम्म ति युवतीहरु भने भागिसकेका थिए । तत्कालै प्रहरीले बुढानिलकण्ठ प्रभागबाट खटिएको प्रहरी आईपुग्यो, महाराजगन्जस्थित शिक्षण अस्पताल पुर्याएर स्वास्थ्य परिक्षणको क्रममा मादक पदार्थ सेवन गरेको भेटियो ।

पैदलयात्रुको मृत्यु भएका कारण प्रहरीले छोड्ने कुरै भएन । प्रहरीमाथि दवाव चर्को पर्यो । भोलिपल्ट तेस्रो पक्ष बीमा र थप रकम दिने सहमति भएपछि पीडितले शव बुझेर संस्कार गरे । सुरुमा मल्लले लाईसेन्स भएको र घरमा रहेकाले ल्याउने बताएका थिए । इन्स्योरेन्स खवरसहितका सञ्चार माध्यममा समाचार बन्यो मापसे गरेर सवारी चलाउँदा बुढानिलकण्ठमा एक जनाको मृत्यु भनेर । बीमा कम्पनीले बीमा दावी भुक्तानी दिन नसक्ने बतायो भने पीडित पक्षले पनि मुद्दामा जाने भन्दै अड्डी कसे ।

२१ बर्षिय चालकसँग लाईसेन्स समेत नभएको साथमा मापसे समेत गरेको प्रमाणका अगाडि उच्च् घरानियाको केही जोर चलेन र अन्ततः पुस २३ काठमाडौं जिल्ला अदालतले लिला देवकोटाको ज्यान जाने गरी भएको दुर्घटनालाई सवारी ज्यान सम्बन्धी महल अन्तर्गत दोषी हुनसक्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

क्षणिक रमाइलोका लागि सवारी चालक अनुमति पत्र समेत नलिएका युवाले मापसे गरी कार हुईक्याउँदा भएको दुर्घटनाले देवकोटा परिवारमा ठूलो विपत्ति आयो भने उनलाई कारागारमा पुर्याएको छ । साथै बीमा दावी भुक्तानी हुने अवस्था समेतले बीमितले आफूलाई कति अनुशासनमा राख्नुपर्ने रहेछ भनेर ख्याल गर्नुपर्ने देखिएको छ । बीमा गरेर मात्रै हुँदैन, बीमा दावी भुक्तानीका लागि पालना गर्नुपर्ने नियमका सम्बन्धमा समेत बीमित सचेत हुनुपर्ने माथिको घट्नाले देखाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु