कम बिजुली बाल्नेलाई निःशुल्क दिइने

२०७६, २१ पुष सोमबार १९:४३

ऊर्जामन्त्री वर्षमान पुनले मासिक न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई निःशुल्क गर्ने व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । 

प्राधिकरण सञ्चालक बोर्डका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री पुनले आइतबारको बोर्ड बैठकमा यस्तो निर्देशन दिएका हुन् । हाल मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या ७ लाख घर छन् । ती परिवारलाई विपन्न परिवारबाट विद्युत् शुल्क नलिने योजना पुनले ल्याएका हुन् । 

‘मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने परिवारलाई सेवा शुल्कबाहेक विद्युत् महसुल नलिने प्रस्ताव ल्याउन मन्त्रीले प्राधिकरणलाई निर्देशन दिनुभएको छ,’ बोर्ड बैठकबारे जानकारी गराउँदै मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले भने । हाल प्राधिकरणले न्यूनतम विद्युत् खपतको सीमा २० युनिट मानेको छ । यो सीमाभित्रका ग्राहकबाट प्रतियुनिट ३ रुपैयाँका दरले ६० रुपैयाँ र ३० रुपैयाँ सेवाशुल्क जोडेर ९० रुपैयाँ लिँदै आएको छ । 

मन्त्रीको योजना कार्यान्वयनमा आए न्यूनतम १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले मासिक ३० रुपैयाँ मात्रै तिर्नुपर्नेछ । ७ लाख परिवारलाई १० युनटिसम्मको महसुल निःशुल्क गर्दा प्राधिकरणलाई वार्षिक २५ करोड रुपैयाँ घाटा हुने र उक्त घाटा प्राधिकरणका नयाँ आयोजनाबाट पूर्ति गर्न सकिने पुनको अनुमान रहेको भट्टले जानकारी दिए । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु