नेपाल सरकारले इन्द्रजात्रा चलाउन पाँच करोडको अक्षयकोष स्थापना ।

२०७६, २६ भाद्र बिहीबार ०७:५८

काठमाडौं । नेपाल सरकारले इन्द्रजात्रालगायत सो जात्रापर्वको सञ्चालन तथा व्यवस्थानका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको छ।

नेपाल सरकारको भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारकासमेतको सहभागितामा कोष स्थापना गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, काठमाडौँ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा सञ्चालन हुँदैआएका जात्रा पर्वमध्ये ईन्द्रजात्राको सञ्चालत र व्यवस्थापनका लागि पाँच करोड रुपियाँको अक्षय कोषको व्यवस्था गरिएको छ।

सो अनुसार, कोषमा जम्मा हुने पाँच करोडको ब्याजबाट वर्षेनी जात्रा खर्च व्यवस्थापन गरिने छ। सो कोषमा सरकारबाट एक करोड ५० लाख, प्रदेश ३ सरकारबाट एक करोड, काठमाडौँ महानगरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट ५० लाख रुपियाँ रकम जम्मा गरिने विज्ञप्तिमा उल्लेख छ।

सो कोषको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखको अध्यक्षतामा एक समिति गठन समेत गरिने जनाइएको छ। सो समितिले प्रत्येक वर्ष इन्द्र जात्रामा गरिने खर्चको बाँडफाँड गर्नेछ। उक्त जात्राको सञ्चालन इन्द्रजात्रा व्यवस्थापन समितिले गर्ने जनाइएको छ। इन्द्रजात्राको सञ्चालन सम्बन्धी कार्यविधि काठमाडौँ महानगरपालिकाबाट निर्धारण भए बमोजिम हुनेगरी निर्णय भएको विज्ञप्तिमा जनाइएको छ। याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु