प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा जान नपाउने

२०७५, १ मंसिर शनिबार १०:१६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्री निवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो । तर,निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास बालुवाटारमै रोकिए ।

सोल्टी होटेलमा शुक्रबार ‘कोलोम्बो प्रोसेस’अन्तर्गतको एसियाका १२ राष्ट्रका श्रममन्त्री सहभागी परामर्श बैठकको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम थियो । उनी सहभागी नभएपछि क्याबिनेटमा दोस्रो वरीयताका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले गरे । बैठकमा वैदेशिक रोजगारमा कामदार पठाउने मुलुक सहभागी छन् ।

चिकित्सकको सुझाबका कारण भिडभाडबाट जोगिँदै आएका प्रधानमन्त्री ओलीले सरकारी सबै काम निवासबाटै सञ्चालन गरिरहेका छन् । यसबीच बालुवाटारमै दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ । छातीमा संक्रमण र श्वासप्रश्वास समस्याले पाँच दिन त्रिविवि शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियोलोजीमा उपचारपछि १६ कात्तिकमा डिसचार्ज भएका थिए । त्यसयता उनी सरकारीनिवासमै आराम गरिरहेका छन् । नयाँ पत्रिका डेलीमा खबर छ ।

Comments

ताजा खबर