सभामुखमाथि आक्रमणको प्रयास , सांसदहरू बिच​ कुटाकुट

२०७५, २९ कार्तिक बिहीबार १७:५७

एजेन्सी । श्रीलंकाको संसदमा विरोधी सांसदहरूले कुटाकुट गरेका छन् । प्रधानमन्त्री महिन्दा राजपक्षेले अविश्वासको मतमार्फत आफूलाई हटाउने अधिकार सभामुखसँग नभएको दाबी गरेपछि कुटाकुट भएको हो । राजपक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित भएको एक दिनपछि यो कुटाकुट भएको हो ।

संसद् बैठक बसेपछि सभामुख कारु जयसूर्याले देशमा सरकार नभएको र प्रधानमन्त्री पनि नभएको बताए । राजपक्षे र उनका प्रतिस्पर्धी रनिल विक्रमसिंघेले यो संकटको शुरूआत नगरेको उनले बताए ।

राजपक्षेले यसलाई अस्वीकार गर्दै मतदान गराउनुपर्थ्यो भने । ‘यस्ता महत्त्वपूर्ण प्रस्तावहरू ध्वनि मतले पारित गर्न हुँदैन उनले भने । प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूलाई हटाउन वा नियुक्त गर्ने अधिकार सभामुखसँग नभएको राजपक्षेले बताए ।

जयसूर्या पक्षपाती भएको र आफ्नो दलको विचार प्रतिनिधित्व गरिरहेको उनले आरोप लगाए । जयसूर्या युनाइटेड नेसनल पार्टीका सांसद हुन् र त्यो दलमा बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिंघेको नेतृत्व छ ।

राजपक्षे ताजा चुनाव गराएमा अहिलेको संकट समाधान हुने मान्यता राख्छन् । राजपक्षेको बयानमा मतदानका लागि विपक्षीले माग राखेपछि झगडा शुरू भएको हो । केही पुरुष सांसदहरूले एकअर्काको हात समातेका थिए भने अरूले हेरेका थिए ।

राजपक्षेलाई समर्थन गर्नेहरू संसद बैठककोठाको बीचमा भेला भएका थिए भने केही अन्य चाहिँ सभामुखको व्यवहारको निन्दा गर्दै उनीतर्फ दौडिएका थिए ।

तीन दर्जनभन्दा बढी राजनीतिकर्मीले झगडा गरेका थिए । भुइँमा लडेका सांसदलाई विरोधीहरूले लात्ती हानेका थिए । राजपक्षेसमर्थक सांसदहरूले पानीको बोतल, किताब र फोहर फाल्ने भाँडो सभामुखतर्फ फ्याँकेका थिए ।

आधी घन्टासम्म मच्चिएको हंगामाका बेलामा विपक्षी सांसदहरूले सभामुख जयसूर्यालाई जोगाउने प्रयास गरेका थिए । 

Comments

ताजा खबर