मान्यजनकहाँ टीका लगाउन जाने क्रम आज पनि जारी, सरकारी कार्यालयहरु आजबाट खुल्ने

२०७५, ४ कार्तिक आईतवार ०८:२०

काठमाडौं, कार्तिक ४ । विजया दशमी टीकाको आज तेस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ ।

यसअघि शुक्रबार देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशिर्वाद ग्रहण गरे ।

विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिंदैछन् ।मान्यजनले टीका लगाइ दिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।

यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।

Comments

ताजा खबर