ठेलाको पानीपुरी खाँदा एकै गाउँका ३३ जना बिरामी

२०७५, २९ आश्विन सोमबार १०:१९

सुर्खेत – ठेलामा राखिएको पानीपुरी खाँदा सुर्खेतको भेरीगंगा नगरपालिकाको एकै गाउँका ३३ जनाभन्दा बढी बिरामी परेका छन् । भेरीगंगा नगरपालिका ११ रामघाटमा ठेलामा राखिएको पानीपुरी खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा महिला र बालबालिका रहेका छन् ।

बिरामीमा वान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखिएका छन् । स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनीहरुलाई वीरेन्द्रनगर ल्याइएको हो । बिरामीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पानीपुरी बेच्ने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामीको अहिले प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।

यसैबीच कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले बिरामीको उपचारमा कुनै कमी नराख्न अस्पताललाई निर्देशनसमेत दिएका छन् ।

Comments

ताजा खबर