भाइरलको प्रकोपले विद्यालय बन्द

२०७५, १९ आश्विन शुक्रबार १९:०७

दार्चुला/ नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोपले यहाँस्थित केदारेश्वर मावि सुण्डमुण्डु बन्द गरिएको छ ।एक सातादेखि फैलिएको भाइरलले गाउँभरिका बालबालिका तथा वृद्धवद्धासहित विद्यालयमा अध्ययनरत ३५० विद्यार्थीमध्ये आधाभन्दा बढी प्रभावित भएका छन् ।

विद्यालयका शिक्षक प्रेमसिंह ठगुन्नाका अनुसार भाइरलकै कारण विद्यार्थीको नियमित पठनपाठनमा समस्या भएपछि आजदेखि विद्यालय बन्द गरिएको हो । दशैँ बिदा यही असोज २४ गतेदेखि गर्नुपर्ने भए पनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय चाँडै बन्द गरिएको उहाँले बताउनुभयो ।

प्रभावित विद्यालयमा सामुदायिक स्वास्थ्य एकाइ सुण्डमुण्डुको स्वास्थ्यकर्मीको टोलीले आज विद्यालयमै औषधि वितरण गरेको छ । सबै विद्यार्थी र शिक्षकमा भाइरल फैलिँदै गएपछि स्वास्थ्यकर्मीको टोलीलाई विद्यालयमै बोलाएर औषधि वितरण गरिएको हो । एकाइका प्रमुख रमेशसिंह ठगुन्नाले भन्नुभयो, “अहिले विद्यालय क्षेत्र र बढी प्रभावित क्षेत्रमै औषधि दिएका छौँ ।

मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य एकाइ तथा निजी मेडिकलमा बिरामीको भीड लाग्ने गरेको छ ।” भाइरल कम गर्नका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली विद्यालय र गाउँमा पठाइएको नौगाड–२ का वडाध्यक्ष नरेन्द्रसिंह ठगुन्नाले बताउनुभयो । बिरामीको निगरानीमा दुई अहेब परिचालन गरिएका छन् ।

Comments

ताजा खबर