टी–२० विश्वकप क्रिकेट छनोट: नेपालले ३ ओभरमै म्यानमारलाई ८ विकेटले हरायो

२०७५, १७ आश्विन बुधबार १६:४७

काठमाण्डौ, असोज १७ । सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको हो ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा समेटियो नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका छन् । २ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिँदा ३ रन खर्चिए । यसैगरी ललित नारायण राजवंशीले ३ ओभर बलिङ गदै ३ रन खर्चिएर ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको नेपालले तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालका ओपनर प्रदिप ऐरीले कुनै पनि खाता खोल्न सकेनन ।

त्यसपछि अनिलकुमार शाह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजीत १४ रन बनाउदा नेपालले सहज जित हात पार्यो । अब नेपालले आफनो दोस्रो खेल असोज २० गते मलेसियासँग खेल्नेछ ।

आज देखि २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी छन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएइ, कतार र कुवेतसँगै पूर्वक्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

Comments

ताजा खबर