घिमिरे अख्तियार प्रमुख आयुक्तमा सर्वसम्मत

२०७५, ४ आश्विन बिहीबार १९:०७

काठमाडौँ, -संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको थियो । उहाँले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्ने प्रणालीको विकास गरिएको र पछिल्लो दिनमा स्थानीय निकायको बढी उजुरी आएको जानकारी दिनुभयो । म आयोगलाई व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा चलाउँछु र प्रभावकारी परिणाम निकाल्छु, प्रवृत्तिका रुपमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग जरुरी छ”, उहाँले भन्नुभयो ।

सं २०७४ फागुन २ गतेदेखि कायममुकायम प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हालिइरहनुभएका घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि हदैसम्मको प्रयास गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र तोकिएको समयमा काम नगर्ने प्रवृत्तिविरुद्ध पनि दृढताका साथ उभिने विश्वास दिलाउनुभयो ।

उहाँले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण भए पनि त्यसलाई नियन्त्रणका लागि विज्ञ कर्मचारी एवं प्रविधिको समेत जरुरी रहेको बताउनुभयो । बैठकमा सांसदले “प्रमुख आयुक्त हुनका लागि तपाईँको कार्ययोजना के के छन् ” भनेर प्रश्न गर्नुभएको थियो । सांसदको प्रश्नको जवाफमा आयुक्त घिमिरेले आफ्नो कार्यकालमा कानूनी र नीतिगत सुधार गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि तथा अनुसन्धानको दायरासमेत फराकिलो बनाउने उल्लेख गर्नुभयो ।

Comments

ताजा खबर