विराटनगर जुटमिल्स खुल्यो, व्यावसायिक उत्पादन सुरु

२०७५, २७ भाद्र बुधबार ०६:२३

विराटनगर : मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले व्यवसायिक उत्पादन थालेको हो । जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो ।

मिल्स सञ्चालक समितिका अध्यक्ष बसन्त वनले नेपाल सरकारको सहयोग र समितिको पहलमा मिल्सलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । ‘अहिले दैनिक छ टन उत्पादन गर्ने र मागअनुसार त्यसलाई बढाएर पूर्ण क्षमतामा दैनिक २० टन पुर्‍याइने छ’, उनले भने । अन्नपूर्ण पोस्टमा खबर छ ।

वनले मिल्समा जीर्ण मेसिन मर्मत, कच्चा जुट, कामदार तथा अन्य व्यवस्थापकीय काम सकेपछि मिल्स पुनः सञ्चालन गरिएको बताए । भारतको कलकत्ताबाट ल्याइएका जुट विशेषज्ञको टोली उत्पादन, परामर्श र बजारीकरणमा सहयोग गरिरहेको छ ।

पहिलो चरणमा मिलबाट जुटको सुत्ली र भारतीय बजारको मागअनुसार बोरा उत्पादन थाल्ने व्यवस्थापनले तयारी गरेको छ । ‘भारतबाट आएका प्राविधिकसहितको परामर्शदाताले समेत उत्पादन व्यवस्थापनमा सहयोग गरेकोले थप सहज भएको छ’, अध्यक्ष वन भन्छन्, ‘हाललाई उत्पादनको परिमाण हेरेर कामदार मगाइएको र बढ्दै जाँदा संख्या थप गरिने छ ।’

अध्यक्ष वनले मिल्स सञ्चालनमा आएपछि पहिले यससँग जोडिएका धेरै कामदारले रोजगारीसमेत पाउने बताएका छन् । मिल्सले कामदारको सूची बनाइसकेकाले सञ्चालन क्षमता बढ्दै जाँदा उनीहरुलाई रोजगारी दिँदै जाने योजना बनाएको छ ।

११ केभीएको विद्युत लाइन काटिएपछि समस्या भएकोमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भई मासिक ६ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्ने गरी मिल्समा जडान भएको छ ।

मिल्सले मासिक ५ लाख रुपैयाँ भुक्तानी गर्ने सर्त राखेकोमा त्यसलाई प्राधिकरणले नमानेपछि नयाँ सम्झौता भएको बताइएको छ । मिल्सलाई २४ घण्टा नै पर्याप्त विद्युत उपलब्ध हुने गरी ३३ केभिए प्रशारण लाइन जोडिदिन सरकारसँग समेत माग गर्दै आएका छ । अध्यक्ष वनले भने, ‘दीगो व्यवस्थापन गर्दै अब मागअनुसार उत्पादन गर्ने योजनासाथ अघि बढेका छौं ।’

नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतका सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ मिल्सको स्थापना गरेका थिए । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु भएको थियो भने मजदुर आन्दोलन पनि ।

विराटनगर जुटमिल्स क्षेत्रलाई संग्रहालयको रुपमा विकास गर्न सरकारले तयारी गर्ने यसअघि मिल्सको निरीक्षणमा आएको उद्योग मन्त्री मातृका यादवले जानकारी गराएका थिए । मुलुककै पहिलो उद्योग सञ्चालन गर्न व्यवस्थापनले कुनै कसर बाँकी नराख्ने अध्यक्ष बसन्त वन बताउँछन् ।

Comments

ताजा खबर