म्यादी अवधिको उच्स्तरीय वार्ता टोलीद्वारा द्वन्द्वरत पक्षसँग वार्ता सफल पार्ने दावी

२०७५, २१ भाद्र बिहीबार २०:३९

भोजराज भट्टराई , पाल्पा, २१ भाद्र  । तीन महिना समय अवधीको लागि गठन गठन भएको उच्चस्तरीय वार्ता टोलीले हिंसात्मक विद्रोही पक्षसँग वार्ता गरी हिंसा अन्त्य गर्ने दावी गरेका छन् । टोली संयोजक सोमप्रसाद पाण्डेले सोमबार तानसेनमा पत्रकार भेटघाट गरी देशमा रहेका सबै असन्तष्ट द्वन्द्वरत पक्षहरूसँग वार्ता गरी सवैलाई संविधानको पक्षमा ल्याउन पहल गर्ने जनाए । ‘समय छोटो भएर फरक पर्दैन’ पाण्डेले भने–‘समय सीमा के कति भन्दा पनि कामलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ टोली केन्द्रीत रहनेछ ।

उनले सबै भन्दा ठूलो संगठनको रुपमा देखिने गरी आएको विप्लव समूहलाई वार्ताका लागि औपचारिक पहल गरिने बताए । ‘हामीले उहाँहरुका सुभेच्छुक, निकटका व्यक्तिहरूसँग आसय बुझिसकेका छौं । उहाँहरू वार्तामा बसेर शान्तिपूर्ण बाटोमा आउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ उनले द्वन्द्वरत पक्षहरूसँग के कसरी बार्ताको माध्यमबाट अगाडि बढ्ने भन्नेतर्फ तयारी थालिएको र तयारी पूरा भएलगत्तै आधिकारिक रुपमा पत्राचारसहित बार्ता आह्वान गरिने जानकारी दिए ।

हाल देशभर १ सय भन्दा बढी विप्लवका कार्यकर्ताहरू प्रशासनिक प्रकृतिका किटानी जाहेरीलाई आधार मानेर प्रक्राउ गरिएकोले यसलाई राजनीतिक प्रतिशोधको रुपम नबुझ्न आग्रह गरे । ‘विप्लवका कार्यकर्ताहरू सवै प्रशासनिक प्रक्रियाबाट पक्राउ परेका हुन् । उहाँहरूको लागि राजनीतिक विषयबाट पक्राउ गरिएको छैन ’ पाण्डेले बताए ।

उनले तराईमा रहेका गोहीत समूह, पाल्पालाई केन्द्र बनाएर स्थापित माओवादी कम्प्युनिष्ट केन्द्र, सिके राउत लगायत अन्य समूहको पहिचान गरी लिखित प्रक्रियाबाट बार्ताको लागि आह्वान गरिने बताए । उनले हिंसारत पक्ष र युद्धरत पक्षहरूसँग वार्ताको माध्यमबाट सरकार अगाडि बढी शान्तिपूर्ण प्रक्रियामा अगाडि बढ्न लागिपरेकोले सञ्चारकर्मीहरूलाई जानकारीमा भएका गतिविधिबारे सूचना गरी सहयोग गर्न आग्रह गरे ।

Comments

ताजा खबर