पत्रकार महासंघ जापान शाखाको साधारण सभा सेप्टेम्बर २१ मा हुने

२०७५, २१ भाद्र बिहीबार १२:२५

टोकियो,२१ भदौ । नेपाल पत्रकार महासंघ जापान शाखाको वार्षिक साधारण सभा आगामी सेप्टेम्बर २१ तारिख हुने भएको छ ।
साधारणसभा टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा हुने भएको हो।

साधारण सभा बिहान १२ बजे देखि शुरु हुनेछ । साधारण सभामा महासंघका हाल सम्मका गतिबिधिको समिक्षा गरिनुका साथै आर्थिक प्रतिबेदन प्रस्तुत गरिने पनि महासंघले जनाएको छ ।

साथै महासंघको स्मारिका ’प्रवास पत्रकारिता भाग -२’ को बिमोचन गरिनुका साथै पत्रकार अक्षय कोषको पनि घोषणा गरिने महासंघका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो ।

साधारण सभा सकिए लगतै महासंघले सोही दिन पत्रकार रबि लामिछानेको उपस्थितिमा बिशेष अन्तर्कृया कार्यक्रमको पनि आयोजना गरेको छ । खुल्ला अन्तर्कृया कार्यक्रम बेलुकी ६ बजे देखि शुरु हुनेछ ।

‘लामिछाने संग समाज रुपान्तरण तथा सामाजिक समस्याहरुको निराकरणमा संचार माध्यम र संचारकर्मीहरुले खेल्ने भूमिका लगायतका विषयमा जापानवासी नेपाली समुदायबीच अन्तरकृया गरिने बताईएको छ ।

कार्यक्रममा लामिछानेले आफ्नो पत्रकारिताको अनुभव तथा प्रभाव एवं वर्तमान नेपाली समाजमा संचार माध्यमले खेल्नु पर्ने भूमिकाका विषयमा आफ्नो प्रस्तुति राख्नेछन् ।

उक्त कार्यक्रममा आमसंचार तथा लामिछानेले प्रस्तुत गरेका समसामयिक विविध घटनाक्रमहरुका बारेमा पत्रकार लामिछाने संग सहभागिहरुले आफ्ना जिज्ञासाहरु राखि अन्तर्कृया गर्न सकिने पनि महासंघले जनाएको छ ।

रबि लामिछाने पछिल्लो समय सत्य तथ्य तथा निष्पक्ष समाचार संप्रेषण गरेर चर्चामा अाइरहने एक निडर पत्रकारका रुपमा चिनिने चर्चित पत्रकार हुन ।

महासंघको आयोजना तथा ईजिलिंक मनि ट्रान्सफरको सहयोगमा हुने उक्त कार्यक्रममा निशुल्क सहभागी हुन सकिने छ । कार्यक्रममा सहभागिताका लागि महासंघले जापानका सबै संचारकर्मीका साथै आम जापानबासीमा अपिल पनि गरेको छ ।

पत्रकार महासंघ जापान प्रवास पत्रकारितालाई मूलधारको पत्रकारिता संग जोड्दै पत्रकार तथा पत्रकारिताको हित र सवलिकरण एवं निश्पक्ष सहितको सन्तुलित समाचार सम्प्रेषणमा कृयाशिल रहेको छ ।

Comments

ताजा खबर