काठमाडौंदेखि थाइल्यान्डसम्म गाडीमै जान पाइने, यस्तो छ रुट

२०७५, १३ भाद्र बुधबार ०६:०७

काठमाडौंः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरुबीच यातायात तथा पारवहन सम्झौता हुने भनिएको धेरै समय भयो । सबै सदस्य राष्ट्रहरु पारवहन सम्झौताका लागि तयार भएपनि अझै पारवहन प्रोटोकल टुंगिन बाँकी नै रहेको छ ।

युरोपियन युनियनकै शैलीमा प्रस्ताव गरिएको प्रोटोकलमा लामो समयदेखि छलफल भइरहेको छ । यो सम्झौता ठोस सहमति भएर कार्यान्यवनमा कहिलेबाट जान्छ भन्ने अन्योल पनि संगै आउने छ । यसपटकको बिमस्टेकमा पनि प्रोटोकलका विषयमा छलफल भने हुने भएको छ ।

बिमस्टेकको शिखर सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकलबारे छलफल गर्न संयुक्त कार्यटोलीको बैठक बस्दैछ । बैठकको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नेछन् । बिमस्टेक राष्ट्रका बीचमा हुने पारवाहन प्रोटोकलको ड्राफ्ट बनिसकेको छ ।

मंगलबार काठमाडौंमा बस्ने कार्यटोलीको बैठकमा नेपालले प्रोटोकलको मस्यौदामाथि आफ्नो टिप्पणी राख्नेछ । अन्य देशले पनि मस्यौदामाथि आफ्ना धारणा र मागहरु राख्नेछन् । बंगलादेश र श्रीलंकाले मस्यौदामाथि टिप्पणी राखिसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख केशवकुमार शर्माले बताए । नेपालले पनि औपचारिक धारणा राखिसकेको छ ।

भुटान लगायतका भुपरिबेष्टित मुलुकले यसमा विशेष सुविधाका लागि फरक किसिमका प्रस्तावहरु गरेका छन् । नेपालले बिमस्टेक सदस्य राष्ट्रको सडकमार्ग निःशुल्क प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ । यसमा अन्य सदस्य राष्ट्रहरुले भने सहमति दिएका छैनन् ।
यदि आशन्न बैठकमा मस्यौदामा सर्वपक्षीय सहमति जुटेमा त्यसलाई बिमस्टेकको शिखर नेतृत्वलाई जानकारी गराइनेछ ।

त्यसपश्चात सबै देशले अनुमोदन गरेपछि संयुक्त पत्र आदान–प्रदान गरेर मात्रै प्रोटोकललाई कार्यान्यवनमा लैजान सकिन्छ । यो प्रोटोकल बिमस्टेक राष्ट्रहरुबीच सडक मार्गहरुलाई कनेक्सन गर्नमा केन्द्रित छ । यदि प्रोटोकल टुंगिएर समझदारी भएमा नेपालबाट भारत, बंगलादेश, म्यानमार हुँदै बैंककसम्म गाडी , मोटरसाइकल बाटै यात्रा गर्न पाइनेछ । त्यसपछि नेपालीहरु यहीँबाट गाडी चलाएर सडकमार्ग मार्फत नै बैंककसम्म पुग्न सक्नेछन् । तर, देशअनुसारका कानुन र नियमहरुलाई पालना गर्नुपर्ने छ ।

प्रोटोकलको मस्यौदामा वार्षिक सवारी कोटा तोक्ने र त्यसअनुसार क्रसबोर्डर यातायात पहुँच दिने उल्लेख छ । नेपालसहितका भुटान लगायतका भुपरिबेष्टित मुलुकले यसमा विशेष सुविधाका लागि फरक किसिमका प्रस्तावहरु गरेका छन् ।

उक्त प्रोटोकलमा सहमति भएमा नेपालले भारतबाहेक बंगलादेश, थाइल्याण्ड लगायतका मुलुकका सामुन्द्रिक बन्दरगाहसम्म यातायातको पहुँच पाउनेछ । वाषिर्क रुपमा अधिकतम् सवारी कोटा प्राप्त गर्न पनि भूपरिबेष्टित मुलुकले प्रयत्न गरेका छन् ।

Comments

ताजा खबर