प्रधानमन्त्री असन्तुष्ट, बालुवाटार बेलाए विद्यासुन्दर लाई

२०७५, १६ श्रावण बुधबार २२:१०

१६ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगर पालिका का मेयर विद्यासुन्दर शाक्यको कामप्रति असन्तुष्टि जनाएका छन् । 

महानगरको काम राम्रो गर्न नसक्दा सिंगो सरकार र पार्टीलाई पनि असर पर्ने भन्दै ओलीले शाक्यलाई देखिने गरी काम गर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ओलीले शाक्यलाई प्रधानमन्त्री निवास वालुवाटरमै बोलाएर एक वर्षमा काठमाडौं महानगरपालिकाले गरेको कामको विवरण मागेका थिए ।

काठमाडौंका सडकको दूरावस्था र धुँवाधूलो नियन्त्रण गर्नेतर्फ परिणामुखी काम हुन नसकेकोमा प्रधानमन्त्री असन्तुष्ट छन् । शाक्यका कामप्रति असन्तुष्टि जनाउँदै सुधारका साथ अघि बढ्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

शाक्यले भने काम गर्न खोज्दा विभिन्न ठाउँबाट अवरोध आइरहेको र नभएका कामको मात्र प्रचार हुने गरेको स्पष्टिकरण दिएका छन् । केन्द्र सरकार र प्रदेश सरकारले गर्नुपर्ने काम नभएको दोष पनि आफूले बोक्नु परेको मेयर शाक्यको गुनासो छ ।

मिडिया आफूप्रति नकारात्मक रहेको भन्दै महानगरले एक वर्षमा स्थानीय जनताको पक्षमा धेरै काम गरेको बताएका छन् । शाक्यले आफ्नो विरोध र आलोचना काठमाडौंका स्थानीय वासिन्दाभन्दा पनि बाहिरबाट आएर बसेकाहरुले सामाजिक सञ्जालबाट गर्ने गरको बताउँदै आएका छन् ।

महानगरको जिम्मेवारीमा नपर्ने राष्ट्रिय सडकहरुको दूरावस्थाको जिम्मेवार पनि आफूलाई देखाउने गरिएको गुनासो शाक्यको छ । सडकको धूलो सफा गर्न दुई वटा बुमर ल्याइइएको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने काठमाडौं महानगरको नेतृत्वले राम्रो काम गर्न नसक्दा त्यसको क्षति सरकार र पार्टीले पनि भोग्नुपर्ने भन्दै शाक्यलाई विज्ञ र सल्लाहकारहरुको टिम बनाएर काम गर्न सुझाएका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले काठमाडौंका मेयरसँग प्रधानमन्त्रीले राजधानीको समग्र विकास र सडक पूर्वाधारको अवस्थाबारे छलफल गरेको बताए । प्रधानमन्त्रीले यसै साता नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु सँग पनि छलफल गरेका थिए ।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘काठमाडौंका मेयर शाक्य खराब मान्छे होइनन् । तर, काठमाडौं महानगर हाँक्न जुन गतिशीलता हुनु पर्ने हो, त्यो चाहिँ नभएकै हो । हिजो चुनाव जित्ने व्यक्ति खोज्दा स्थानीय पार्टीले उनलाई अघि सार्‍यो । आज कर्मचारीतन्त्र, उपमेयर र आफ्नै पार्टीका वडाध्यक्षहरुको समेत असहयोग झेल्नु पर्दा उनी अलमलिए । प्रधानमन्त्रीले फटाफट काम गर्नुस्, केही परे म छु भनेर पठाउनु भएको छ ।’

स्रोतका अनुसार शाक्यलाई सघाउन र महानगरको काम जनताले महसुस गर्ने खालको बनाउन सम्बन्धित विषयका विज्ञहरुको प्रभावकारी सल्लाहकार संयन्त्र बनाउने तयारी समेत भइरहेको छ ।

Comments

ताजा खबर