स्थानान्तरण वा राज्यलाई बेच्ने दुवै विकल्पमा खुला छौं , मनमोहन अस्पताल बेच्न तयार

२०७५, १२ श्रावण शनिबार ०९:१३

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी (नेको)का उपाध्यक्ष बंशिधर मिश्रले सरकार र डा. गोविन्द केसीबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

नेकोले स्वयम्भूमा मनमोहन ममोरियल मेडिकल कलेज चलाउन आशय पत्र लिएर पूर्वाधारमा लगानी गरेको छ । सरकार र डा. केसीबीच भएको नौबुँदे सहमतिले अब १० वर्षसम्म नै यो मेडिकल कलेज खुल्ने बाटो बन्द भएको छ ।

सरकारलाई बेच्ने वा चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्ने विकल्प दिइनेछ ।

यो सहमतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको नेकोका उपाध्यक्ष डा. बंशिधर मिश्रले अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले श्रद्धेय नेता मनमोहनको नाममा मेडिकल कलेज चलाउन चाहेका हौं । हामीले सहकारीमार्फत चलाउँदा पनि नाफारहित भनेका हौं । सरकारले चलाएपनि स्वीकार्य छ ।’

आन्तरिक छलफलपछि राज्यलाई बेच्ने कि स्थानान्तरण गर्ने निर्णय लिइने उनले बताए । उनी भन्छन्, ‘न्याम्सले किनोस्, त्यसका लागि हामी सकारात्मक नै छौं ।

यसअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा न्याम्सले मनमोहन मेडिकल कलेजको सम्पत्ति किन्ने निर्णय गरेको पनि थियो । तर, मन्त्रिपरिषदबाट निर्णय हुन सकेन भने कलेजका लगानीकर्ताहरुले पनि राज्यलाई बेच्न तयार नभएको बताएका थिए ।

तर, अहिले सकारात्मक देखिएको छ । लगानीकर्ताहरुसँग सहमति गरेर मन्त्रिपरिषदले किन्ने निर्णय गरे सम्पत्ति मूल्यांकन समिति गठन प्रक्रिया सुरु हुनेछ ।

स्थानान्तरण विकल्प पनि आफूहरुका लागि उपयुक्त नै रहेको उपाध्यक्ष मिश्रले बताए । सहकारी विश्वविद्यालय सञ्चालनका लागि धादिङमा डेढ सय रोपनी जग्गा किनिएको भन्दै उनले त्यहीँ नै मेडिकल कलेज चलाउन पनि सकिने बताए ।

Comments

ताजा खबर