कांग्रेसले लासको राजनीति गर्न खोज्यो प्रचण्ड

२०७५, ८ श्रावण मंगलवार ०३:३५

८ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी कांग्रेसले डा. गोविन्द केसीको अनसनको बलमा सरकारविरुद्ध आन्दोलन गरेकोमा चर्को आलोचना गरेका छन् ।

अनसनरत डा. गोविन्द केसीको काम नै अनसन बस्ने भएको र त्यसलाई नेपाली समाजले पचाइसकेको भन्दै उनले कांग्रेसले आन्दोलन गरेकोमा आक्रोश पोखे ।

पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले डा. केसीको जीवन रक्षाको दायित्व सरकारको भएको बताए । उनले अघि भने, ‘तर, अर्को पक्ष गम्भीर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत शायद उहाँको हत्या गर्न चाहन्छ, लासको राजनीति गर्न चाहेको हो कि भन्ने प्रश्न खडा भएको छ ।’

उनले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको बताए । ‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रश्न गरे, ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’

आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमति गरौं भनेको सुनाउँदै उनले भने, ‘उहाँले डा. केसीलाई सहमति गरे हुन्छ । नभए हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।’
प्रचण्डले आफ्नो निष्कर्ष सुनाए, ‘यही बुद्धि हो भने कांग्रेस अब सिद्धियो । यो अवसानको बाटो हो ।’

हिजोका अधिकृतहरुलाई सडकमा उतार्दैमा सरकार र नेकपा कमजोर नहुने बरु, अझ शक्तिशाली हुने उनले बताए । आफूहरुले भर्खर पार्टी एकता गरेको र जनतामा जान बाँकी नै रहेको भन्दै उनले भने, ‘प्रतिक्रान्तिले निहँु खोज्न थालेको छ, भदौबाट अभियान छेड्नैपर्छ । जनताको तागत भनेको के हो देखाउनुपर्छ ।’

प्रचण्डले डा. केसीलाई ककसको घेरामा परिसकेँ भन्ने हेर्न पनि आग्रह गरेका छन् ।

उनले अनसन बसेको भरमा सबै माग पूरा नहुने पनि दावी गरे । ‘एउटा व्यक्तिको मागलाई मानिदिनुपर्ने हो भने संसद किन चाहियो ?’ उनले भने ‘बीचबीचमा एक दुई जनालाई अनसन बस्न लगाइदियौं । उसले जे भन्छ त्यही मानौं ।’

Comments

ताजा खबर