सर्वसम्मत दलको नेता मा ठाकुर

२०७५, ३१ असार आईतवार ०९:५०

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत भएका छन् । संसदीय दलको शनिबारको बैठकले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ । सिंहदरबारस्थित राजपा संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका महासचिव अजय गुप्ताले बताए ।

अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको प्रस्तावमा ठाकुर सर्वसम्मत चयन भएका हुन् । महतोले दलका नेताका लागि ठाकुरलाई प्रस्ताव गरेपछि सांसदहरूले ताली बजाएर अनुमोदन गरेको सांसद एकबाल मियाँले बताए । लामो समयसम्म दलको नेता विधान अभावकै कारणले छान्न सकेका थिएनौं, विधान बनाएपछि नेता चयन गरेका छौं, अब पदाधिकारी चयन हुनेछन्,’ मियाँले भने, पार्टी सशक्त अगाडि बढाउन विवादरहित निर्णय भइरहेका छन्, हल्ला भएजस्तो छैन ।’

संघीय संसद्को तेस्रो ठूलो दल राजपा नेपालले निर्वाचन सम्पन्न भएको ६ महिनापछि दलको नेता चयन गरेको हो । संसदीय दलको नेतामा महतोले पनि चासो देखाएका थिए । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले विवादरहित हिसाबले निर्णय गरिएको बताए ।राजपा नेपालले संघीय संसद्मा मुद्दाको गुण र दोषका आधारमा सशक्त रूपमा आवाज उठाउने निर्णय पनि गरेको छ । दुवै सदनमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गरिने राजपा नेपालका वरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लालले बताए ।

संघीय संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा सशक्त रूपमा हाम्रो प्रस्तुति रहनेछ,’ लालले भने, ‘मधेस आन्दोलनको मुद्दासहित मुलुकका विभिन्न विषयमा पार्टीले प्रभावकारी भुमिका निर्वाह गर्छ । दलको नेतामा निर्वाचित भएपछि ठाकुरले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने भएकाले त्यसका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

सर्वसम्मत दलको नेता छनोट गरेको राजपा नेपाल अब पार्टीको महाधिवेशन तयारीमा जुट्ने नेताहरूले बताए । ७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर राजापा नेपालको घोषणा भएको हो । एक वर्षमै महाधिवेशन गर्ने घोषणा गरिए पनि हुन सकेको छैन ।

Comments

ताजा खबर