संसद बैठकः ‘तराईको सम्भावित बाढी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

२०७५, १० असार आईतवार १७:३७

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका छन् ।

नेकपाका विरोध खतिवडाले मकवानपुरको मनहरी–४ मा आरक्ष प्रभावित ३०० घरपरिवारलाई बसोबासको प्रबन्ध गर्न सरकारसंग माग गरे । नेकपाकै शान्ता चौधरीले दाङ जिल्लामा मानवबस्तीमा रहेका सिमेन्ट उद्योगलाई त्यहाँबाट हटाउन वा बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेकपाका श्यामकुमार श्रेष्ठले रामेछापलगायतका जिल्लामा सवारी साधन आवागमनका लागि अलग्गै मापदण्ड बनाइएकोमा चिन्ता व्यक्त गरे । नेपाली काँग्रेसका अतहरकमाल मुसलमानले सभामुख र उपसभामुख एकै दलको हुन नहुनेतर्फ सदनको ध्यानाकर्षण गराए ।

नेकपाका आशाकुमारी विकले बझाङ जिल्लामा भएको चेलीबेटी बेचबिखन, हिंसा र दुव्र्यवहारमाथि कारवाही गर्न माग गरिन् ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने÷नगर्नेबारेमा सरकारका मन्त्रीहरुबीच नै मतभेद सार्वजनिक हुनु दुःखद भएको बताए । सांसदहरु उमाशंकर अरगरिया, सञ्जयकुमार गौतम, घनश्याम खतिवडाले विशेष समयमा भाग लिएका थिए ।

बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टीका बृन्दा पाण्डेले प्रवासमा रहेका नेपाली श्रमिकको लास महिनौँसम्म रहेको विषयमा जानकारी दिन सरकारसंग माग गरे । नेपाली काँग्रेसका लक्ष्मी परियारले भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल सारेर आफ्ना सांसदहरुलाई नयाँ–नयाँ योजना बाँड्न लागेको आशंका व्यक्त गरिन् ।

सो पार्टीका बहादुरसिंह लामाले आवश्यक कागजात नहुँदा नुवाकोटामा छुट भएका भूकम्प प्रभावितको नाम थप गर्न माग  गरे ।  सांसदहरुले तराईको बाढी नियन्त्रण, किसानको उखुको उचित मूल्य निर्धारण र भुक्तानीप्रति सरकारको ध्यानाकर्षण गरे ।

Comments

ताजा खबर