एच.आईं.भी. संक्रमितको भेदभाव न्यूनीकरणको लागि नयाँ ढंगबाट लागौं

२०७५, २५ जेष्ठ शुक्रबार १३:०४

पाल्पा, २५ जेष्ठ भबिन्द्र गौतम –
स्वतन्त्र पत्रकार संघ पाल्पाको संयोजन र हिमालयन सोसियल वेल फियर अर्गनाइजेसन ललितपुरको सहयोगमा तानसेनमा संक्षिप्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा एच.आई.भी.को नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याउने विषयमा सहभागीहरूबीचमा छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरूले राज्यले पुरातन शैलीबाट संक्रमितहरूबारे कार्यक्रम सञ्चालन गर्नुभन्दा गुणात्मक उपलब्धिमा केन्द्रीत रही लक्षित समुदायमा प्रभावकारिता हुने गरी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । पाल्पा संग्राहलयका अध्यक्ष राजेन्द्र गोपाल सिंहले समस्या केन्द्रीत क्षेत्र पहिचान गरी प्रभावकारीता ल्याउने कार्यक्रम जरुरी रहेको जनाए । उनले एच.आई.भी. संक्रमितहरूको सवालमा काम गर्दै आएका निकायहरूले वर्षौदेखि एकै प्रकृतिले कार्यक्रम गर्दै आएकोले संक्रमितको सुरक्षा, आत्मसम्मान र आत्मनिर्भरताका लागि नयाँ ढंगले बहस चलाउनुपर्ने बताए ।

तानसेन बहुमुखी क्याम्पसका सहायक प्रमुख पुष्करराज रेग्मीले गुणात्मक उपलब्धि हुनेगरी तथ्याङ्क सङ्कलन गरी लक्षित समुदायमा कार्यक्रम गर्दा प्रभावकारीता हुनेमा जोड दिए । सञ्चारकर्मी एवं स्वतन्त्रका कार्यसमिति सदस्य विष्णु पाण्डेले कार्यक्रमहरूले संक्रमितहरूलाई सुधारात्मक तथा रोजगार केन्दित बनाई समस्या समाधानमुखी हुनुपर्नेमा जोड दिए । स्वतत्र पत्रकार संघका केन्द्रीय सह–कोषाध्यक्ष अम्बिका पाण्डेले एच.आई.भी. संक्रमित व्यक्तिको जीवनको अवधी लम्ब्याउन मद्दत गर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन ।

स्वतन्त्र पत्रकार संघका पाल्पा अध्यक्ष भोजराज भट्टराईले संक्रमित व्यक्तिको जीवन अवधि लम्ब्याउन सचेतना अभिवृद्धि गर्दै यौनजन्य क्रियाकलापमा खुल्ला बहस गरी सामाजिक संस्कारमा सुद्धीकरण गर्नुपर्नेमा जोड दिए । उनले संक्रमित व्यक्तिको सवालमा जिल्लामा विभिन्न स्थानीय संघ संस्थाहरू निरन्तर लागि परेको भन्दै उनीहरूसँगको सहकार्यमा संक्रमित व्यक्तिको लागि रोग प्रतिरोधात्मक क्षमता, रहनसहन, खानपान र औषधी उपचारका विषयलाई बहसमा ल्याउन आवश्यक रहेको जनाए ।

सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै हिमालयन सोसियल वेल फेयरका सुपरभाइजर विकास खातीले हिमालयन वेल फेयरले एच.आर्इं.भी. संक्रमितहरूलाई सोधखोज गरी नेपालमै पहिलो रोजगारी प्रदान गर्ने गरी कार्यक्रम गर्दै आएको र विभिन्न एच.आर्इं.भी. संक्रमित क्षेत्र पहिचान गरी उनीहरूको दीर्घजीवनको लागि र स्वास्थ्य उपचारमा लक्षित कार्यक्रम गर्दै आएको जनाए । उनले हाल नेपालका ५५ जिल्लाका ६१ वटा ए.आर.टी. केन्द्रबाट एन्टीरेट्रोभाईरल उपचार नेपाल सरकारले निःशुल्क उपलब्ध गराइएको जानकारी गराउँदै नेपाल सरकारसँगको समन्वयमा एच.आई.भी. संक्रमित व्यक्तिलाई गर्नुपर्ने सहयोग, एच.आई.भी. र यौनरोग बिचको सम्बन्ध, एच.आई.भी. एड्सको उपचार पद्दती, एच.आर्इं.भी. संक्रमित व्यक्तिले देश र समाजका लागि पुराउन सक्ने योगदानका विषयमा सरोकारवाला निकायहरूसँग अन्तक्रियात्मक कार्यक्रम गर्दै आएको जनाए ।

Comments

ताजा खबर