सर्वसाधारणले किन्ने मोटरसाइकलकै मूल्य ५ हजारदेखि ३० हजारसम्म बढ्यो

२०७५, १६ जेष्ठ बुधबार १७:४३

१६ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । प्रश्न छ कति ? यसले मोटरसाइकलको मूल्य बढ्ने त निश्चित छ ।

किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । त्यसमा पनि १५० देखि २२० सीसीसम्मका मोटरसाइकल धेरैको पहुँचमा छ ।

 

तर, बजेटले त्यही मोटरसाइकलको मूल्य बढाएको छ । यसमा ५ हजारदेखि ३० हजारसम्म मूल्य बढ्नेछ । ‘हेभी’ मोटरसाइकलको मूल्य त झन् १ देखि ५ लासम्मै बढेको छ ।

 

कुन सीसीमा कति बढ्यो ?

नयाँ करका आधारमा अब १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य स्वतः बढ्नेछ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो ।

तर, १५० सीसी भन्दामाथिका मोटरसाइकलको मूल्य भने अहिलेको तुलनामा निकैमाथि जानेछ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा २५० सीसीसम्मका मोटरसाइकलमा ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने बताउँछन् ।

उनकाअनुसार बढेको अन्तः शुल्क र सडक दस्तुर वृद्धिका कारण १५० सीसीभन्दा माथि र २५० सीसीभन्दा तलका बाइकमा ३० हजारसम्म मूल्य बढ्ने छ ।

त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजार महंगो हुनेछ ।

४०१ सीसीभन्दा माथिका मोटरसाइकलको हकमा भने १ लाखदेखि ५ लाखसम्म मूल्य बढ्नेछ । सीसी क्षमता जति बढी हुन्छ, त्यसैका आधारमा अन्तशुल्क लाग्ने भएकाले महंगा बाइकको मूल्य ५ लाखसम्म बढ्ने उनको भनाइ छ ।

 

Comments

ताजा खबर