बर्डफ्लु देखियो चितवन को कुखुरा मा

२०७५, ४ जेष्ठ शुक्रबार १६:५६

४ जेठ ,चितवन ,
चितवनमा बर्डफ्लु देखापरेको छ। खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो।

राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए।

बिहीबारको मन्त्रिस्तरको निर्णयपछि आज फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उनले बताए।

राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागार्इंले बताए।

खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो। परीक्षणमा एच फाइव एन वान (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाईंले बताए।

सोपश्चात् केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमूना पठाइएको थियो। केन्द्रीय प्रयोगशालाले वैशाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो।

यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ। उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षितरुपमा नष्ट गरिएको छ।

यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ। यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ।

Comments

ताजा खबर