अमेरिकाले शान्तिको वातावरण बिगार्न खोजेको किमको आरोप

२०७५, २३ बैशाख आईतवार १४:५३

काठमाडौं, २३ वैशाख

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीचको पहिलो शिखर सम्मेलन हुनुअघि प्योङयाङले आइतवार अमेरिकाको आलोचना गरेको छ । उत्तरलाई वार्ताको टेबलमा ल्याउनका लागि अत्यधिक राजनीतिक दबाब दिने ट्रम्पको नीतिले काम गरेको भनी अमेरिकाले झुटो दाबी गरेको प्योङयाङ बताउँछ ।

उत्तरको आधिकारिक समाचार संस्थाले विदेश मन्त्रालयको एक प्रवक्तालाई उद्धृत गर्दै यस्ता दाबीहरू कोरियाली प्रायद्वीपमा फक्राइरहेको शान्तिप्रयासलाई बिगार्ने उद्देश्यले गरिएको लेख्यो । किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग अप्रिलको अन्त्यतिर गरेको शान्ति सम्मेलनपछि दुई कोरियाबीच सहजता आएको छ ।

उक्त सम्मेलनमा किमले उत्तर र दक्षिणको सम्बन्ध सुधारका लागि अनेकौं उपाय अपनाउन सहमति जनाएका छन् । उनले कोरियाली प्रायद्वीपलाई गैरआणविकीकरण गर्ने विषयमा छलफल गर्न समेत इच्छा देखाएका छन् । तर त्यसमा के के कुरा समेटिन्छन् र उत्तरले कस्ता शर्त तेर्स्याउँछ भन्ने कुरा पनि व्याख्या गरिएको छैन ।

ट्रम्प र अमेरिकाका वरिष्ठ अधिकारीहरूले उत्तर कोरियाप्रति वाशिङटनको कठोर नीतिका कारण अनि अमेरिकाको प्रमुख व्यापारिक साझेदार चीनको दबाबका कारण कोरियाको चरम तनावपूर्ण स्थितिलाई उल्ट्याउन सफल भएको दाबी गर्ने गरेका छन् ।

अघिल्लो वर्ष मात्र किमले लगातार लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरिरहेका थिए अनि ट्रम्पसँग गालीगलौजको दोहोरी खेलिरहेका थिए । यस्तो अवस्थामा गैरआणविकीकरणको मुद्दामा वार्ता होला भनी कसैले अपेक्षा गरेको थिएन ।

उत्तरले आइतवार जारी गरेको बयान ट्रम्पसँगको वार्ताअघि किम बलियो स्थितिमा छन् भनी देखाउनका लागि हो जस्तो देखिन्छ । प्योङयाङले वर्तमान स्थितिका लागि किम आफैंको प्रमुख भूमिका रहेको बताएको छ ।

Comments

ताजा खबर