टेण्डर फारम दर्ता गर्न गएका व्यवसायीमाथि कुटपिट मा प्रहरी मुक दर्शक

२०७५, २३ बैशाख आईतवार ११:५५

रबिन्द्र बैशाख २३, गोरखा ,

गोरखा पालुङटार नगरपालिकाको कार्यालयमा शुक्रवार टेण्डर फारम दर्ता गर्न गएका व्यवसायीमाथि कुटपिट भएको घटनाले नयाँ रुप लिएको छ । प्रहरी नियन्त्रणमा रहेका राजन सुनार जिल्ला प्रहरी कार्यालय गोरखाबाटै फरार भएपछि घटनाले नयाँ रुप लिएको हो । निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारी नेतृत्वको टोलीले बन्धक बनाएर कुटपिट गरेको भन्दै पीडित व्यवसायीले शुक्रबार निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठ र महासचिव भण्डारी बिरुद्ध उजुरी दिएका थिए ।

कुटपिट गर्ने बिरुद्ध पीडितहरुले शुक्रवार इलाका प्रहरी कार्यालय ठाटीपोखरीमा उजुरी दिएका हुन् । त्यस्तै पीडितले शनिवार राजन सुनार, खुशी तामाङ, रोहन भट्टराइ र सन्दिप तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका राजन सुनार जिल्ला प्रहरी कार्यालय गोरखाबाटै फरार भएका छन् । शुक्रवार संघका अध्यक्ष श्रेष्ठसँगै सुनार र अन्य केही व्यवसायीहरुलाइ प्रहरी कार्यालयमा ल्याए पनि सुनार भने त्यहीँबाट फरार भएको स्रोतको भनाइ छ ।

वल्र्डवाइड कन्स्ट्रक्शनका प्रतिनिधि राम थापा र हरि भट्टराईलाई अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारी नेतृत्वको टोलिले गुण्ड लगाएर बन्धक बनाई कुटपिट गरेका थिए । पालुङटार नगरपालिका-वडा नम्वर ९ मा बन्ने वडा कार्यालय भवन र राधाकृष्ण बारपिर्के ग्रामिण सडक स्तरोन्नतीका लागी ठेक्का खुलेको थियो । ७८ लाखको भवन र ७७ लाखको सडक स्तरोन्तीका लागी ठेक्का आह्वान गरिएको हो ।

उप-मेयर माथि अपशव्द :- ठेक्का छेक्नेहरुले उपमेयर पम्फा बसेल माथि पनि दुव्र्यबहार गरेका थिए । ‘शुक्रबार टेण्डर फर्म दर्ता गर्ने अन्तिम दिन थियो । मेयरसाब नहुनुभएकाले निमित्तको काम मैले नै गरिरहेको थिएँ’ उपमेयर बसेलले भनिन् ‘दिनभरि घटना भयो, दुईबजेतिर हरि भट्टराई र राम थापा मेरो कार्यकक्षमा आउनु भयो । त्यहाँ भएको घटनाको बिरोध गरें । त्यही भएर केटाहरु ममाथि पनि खनिए । भन्न हुने नहुने अपशव्द बोले ।

प्रहरी मुक दर्शक :- उपमेयर पम्फा बसेलले प्रहरी समेत मुक दर्शक भएको आरोप लगाएकी छिन् । उनले भनिन असह्य हुने गरी दुव्र्यबहार गरे ।’ त्यति घटना हुँदासम्म पनि आफूसंगै रहेका इलाका प्रहरी कार्यालय पालुङ्टारका इञ्चार्ज इन्स्पेक्टर मुकदर्शक भएर बसिरहे । ‘घटना नियन्त्रण गर्न पटक पटक अनुरोध गर्दा पनि प्रहरीले भीड हटाएनन्, चुँक्क एकशव्द पनि बोलेनन् । यस्तो प्रहरीको सेवाबाट के सुरक्षाको प्रत्याभूति हुन्छ ?’ उनले आक्रोश व्यक्त गरिन् ।

प्रहरीमाथि अर्को शंका :- घटनाले यो रुप लिदा समेत जनप्रतिनिधिले भनेको समेत प्रहरीले नमानेकाले प्रहरीमाथिनै संका उत्पन्न भएको पिडितले बताएका छन् । फेरी प्रहरी नियन्त्रणमा रहेका राजन सुनार जिल्ला प्रहरी कार्यालय गोरखाबाटै फरार भएको घटनाले झन् शंका गर्ने ठाउ दिएको छ । उनीहरुले जति सक्दो चाडो घटनाको सत्य-तथ्य बाहिर ल्याउन समेत माग गरेका छन् ।

Comments

ताजा खबर