डिभिजन–२ को तयारीमा रहेका ६ टिमका कप्तान के भन्छन्?

२०७४, १६ माघ मंगलवार ०५:४५

काठमाडौं– माघ अन्तिम सातादेखि नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सहभागी हुने ६ वटै टिमले तयारी अन्तिम चरणमा पुर्‍याएका छन्। डिभिजन–२ मा नेपाल, नामिबिया, यूएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन्।

डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ। त्यसैले ६ वटै टिमले शीर्ष २ भित्र पर्ने लक्ष्यसहित तयारी गरिरहेका छन्।

नेपाल अहिले तयारीका लागि युएईमा छ। नेपालले युएईका स्थानीय टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाल माघ २१ गते नामिबिया प्रस्थान गर्नेछ। माघ २५ गतेदेखि सुरु हुने डिभिजन–२ मा नेपालले पहिलो खेल नामिबियासँग खेल्नेछ।

टिमको तयारी र लक्ष्यको विषयमा आइसिसीले ६ वटै टिमका कप्तानसँग प्रतिक्रिया लिएको छ। उनीहरुको प्रतिक्रिया यस्तो छ–

नितिश कुमार (कप्तान, क्यानडा)–
हामीले नेट र जिम सेसनमा कडा मिहिनेत गरिरहेका छौं। टिम छनोटका लागि बार्बाडोसमा अभ्यास गरेका थियौं। त्यहाँ चार वटा खेल खेल्ने मौका पायौं। आगामी साता दक्षिण अफ्रिका जाँदै छौं, जहाँ हामी टर्फमा अभ्यास गर्नेछौं। डिभिजन–२ खेल्न उत्साहित छौं। चार वर्षअघि जस्तै डिभिजन–२ बाट माथि उक्लन राम्रो खेल्नेछौं।

राखेप पटेल (कप्तान, केन्या)–
यो प्रतियोगिता विश्व क्रिकेट लिगको माथिल्लो तह हो। हामी आफ्नो क्षमता प्रदर्शन गर्न व्यग्र छौं। नियमित अभ्यास गरिरहेका छौं। जिम्बावेको ए टिमसँग अभ्यास खेल खेलेपछि नामिबिया जानेछौं। सन् २०११ को विश्वकपपछि अर्को ठूलो प्रतियोगितामा स्थान बनाउन प्रतिस्पर्धा गर्दै छौं।

सारेल बुर्गर (कप्तान, नामिबिया)–
तयारी राम्रो भइरहेको छ। हामी दक्षिण अफ्रिकाको घरेलु प्रतियोगितामा व्यस्त छौं। जसले हाम्रो तयारी एकदमै राम्रो भएको महसुस भएको छ। घरेलु प्रतियोगिताले हामीलाई डिभिजन २ मा राम्रो खेल्न मद्दत पुग्ने विश्वास छ। खेलाडीहरुले पनि आफ्नो जिम्मेवारी बुझेका छन्। डिभिजन–२ मा कडा मिहिनेत गर्दै विश्वकप छनोट प्रतियोगिता खेल्ने कोसिस गर्नेछौं।

पारस खड्का (कप्तान, नेपाल)–
डिभिजन–२ रोयल रम्बल (शाही लडाइँ) जस्तै हो। जहाँ प्रत्येक टिमले अघिल्लो चरणमा स्थान बनाउन उत्कृष्ट खेल्नेछन्। प्रतियोगिता नेपाली क्रिकेटका लागि ठूलो महत्वको छ। उत्कृष्ट खेल्दै विश्वकप छनोटका लागि छानिन सक्नेमा आशावादी छु। विश्वकप खेल्न २ कदम मात्र टाढा रहँदा हामी उत्साहित छौं।

सुल्तान अहमेद (कप्तान, ओमान)–
हामीले घरेलु प्रतियोगिता खेलेर तयारी गरेका छौं। साथै घरेलु मैदानमा भएको सिरिजमा अमेरिकालाई ३–० र दुबईमा भएको सिरिजमा हङकङलाई २–१ ले हराएका थियौं। हामी यस्तै प्रदर्शन डिभिजन–२ मा दोहोर्‍याउने कोसिस गर्छौं।

रोहान मुस्ताफा (कप्तान, युएई)–
डिभिजन–२ खेल्न उत्साहित छौं। प्रतियोगितामा उत्कृष्ट खेल्नेमा आत्मविश्वास छ। हामी सफल हुन सके युएई क्रिकेटको भविष्यलाई नै सकारात्मक प्रभाव पार्नेछ।

डिभिजन-२ खेल तालिका:

माघ २५ गते
केन्या भर्सेस यूएई – वान्डरेरर्स मैदान
नेपाल भर्सेस नामिबिया – डब्लुएपी मैदान
ओमान भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

माघ २६ गते
युएई भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
नेपाल भर्सेस ओमान – डब्लुएपी मैदान
केन्या भर्सेस नामिबिया – ट्रस्टको युनाइटेड मैदान

माघ २८ गते
नामिबया भर्सेस ओमान – वान्डरेरर्स मैदान
केन्या भर्सेस क्यानडा – डब्लुएपी मैदान
नेपाल भर्सेस यूएई – ट्रस्टको युनाइटेड मैदान

माघ २९ गते
नेपाल भर्सेस केन्या – वान्डरेरर्स मैदान
यूएई भर्सेस ओमान – एब्लुएपी मैदान
नामिबिया भर्सेस क्यानडा – ट्रस्टको युनाइटेड मैदान

फागुन २ गते
नेपाल भर्सेस क्यानडा – वान्डरेरर्स मैदान
यूएइ भर्सेस नामिबिया – डब्लुएपी मैदान
केन्या भर्सेस ओमान – ट्रस्टको युनाइटेड मैदान

फागुन ३ गते
फाइनल – वान्डरेरर्स मैदान
तेस्रो र चौथो प्लेअफ – डब्लुएपी मैदान
पाँचौं र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो

Comments

ताजा खबर