मेलम्चीको पानी ‘चैत १५ सम्ममा राजधानीमा ल्याइने’

२०७४, १२ माघ शुक्रबार १९:४५

काठमाडौं, माघ १२ । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ७७ किमि थोक वितरण प्रणालीमध्ये ६७किमि पाइप बिच्छ्याइ  सकियको जानकारी दिइयो ।

यसैगरी, ६७० किमि वितरण सञ्जालमध्ये ६४४ किमि पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । बजेट अभावका कारण धुम्बाराही–महाराजगन्ज–सामाखुसी–कलंकी क्षेत्रको ३०० किमि क्षेत्रमा वितरण सञ्जाल स्थापना हुन सकेको छैन । यो क्षेत्रमा पाइप बिच्छ्याउन रु ८ अर्ब बढी बजेट आवश्यक पर्नेछ ।

बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याउन भत्काइएको सडकमध्ये ६१ किमि सडक विभागलाई कालोपत्रका लागि सम्झौता भइ काम सुरु भएको छ । विभागले रु ८५ करोडको लागतमा निर्माण एवं कालोपत्र गर्नेछ ।

१०० किमि सडक निर्माण एवं कालोपत्र भने निर्देशनालय आफैंले गर्नेछ । यसको लागत रु एक अर्ब छ । भत्काइएकामध्ये २८ किमि सडक निर्माण सम्पन्न भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलसम्मको २७.५ किमि दूरी सुरुङमध्ये अब ३०० मिटरमात्र खन्न बाँकी छ ।

सुरुङको ३०० मिटरको काम सकेरभित्रको कामलाई अन्तिमरुप दिइ चैत १५ अर्थात् मार्चको अन्तिमसम्ममा पानी उपत्यकामा खसाल्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १८६ घरमा धारा जडान भइसकेको प्रवक्ता ढकालले सुनाए ।

सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण भइसकेको छ । अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा मेलम्चीखोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा यांग्री र लार्केखोलाको १७/१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ ।

मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक पाँच घन्टासम्म र यांग्री र लार्केखोलाकोसमेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४सै घन्टा पानी वितरण गर्ने निर्देशनालयको लक्ष्य छ । रासस

Comments

ताजा खबर