भारतमा पेट्रोल र डिजेलको भाउ बढ्ने क्रम जारी

२०७४, ११ माघ बिहीबार १९:१५

माघ ११,  । भारतमा पेट्रोलियम पदार्थको भाउ बिहीवार पनि बढेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि र घरेलु बजारमा इन्धनको माग बढ्दा केही दिनयता पेट्रोलियम पदार्थको भाउ बढिरहेको हो ।

उक्त दिन राजधानी दिल्लीमा डिजेल र पेट्रोलको भाउ बढेर ताजा उचाईमा पुगेका थिए । पेट्रोलको भाउ प्रतिलिटर ७२ रुपया ४९ पैसामा पुगेको छ । यो सन् २०१४ को अगष्टयताकै उच्च भएको इन्डियन आयल कर्पोरेशन (आईओसी)को तथ्याङ्कले देखाएको छ ।

कोलकत्ता, मुम्बई र चेन्नईमा पनि भाउ क्रमशः ७५ रुपया १९ पैसा, ८० रुपया ३९ पैसा र ७५ रुपया १८ पैसा पुगेका छन् । यो सबै तीन वर्षकै उच्च बिन्दु हो । उता, डिजेलको भाउले एक हप्ता नबित्दै नयाँ उचाई छोएको छ ।

राजधानी दिल्लीमा डिजेलको भाउ प्रतिलिटर ६३ रुपया ५३ पैसामा पुगेको छ । कोलकता, मुम्बई र चेन्नईमा पनि यो क्रमशः ६६ रुपया २० पैसा, ६७ रुपया ६५ पैसा र ६७ रुपया पुगेको आईओसीले बताएको छ ।

Comments

ताजा खबर