राष्ट्रिय सभा सदस्यका लागि बुधवार मनोनयन दर्ता, माघ १५ गते चुनाव चिन्ह

२०७४, १० माघ बुधबार १२:०६

माघ १०, काठमाडौं  माघ २४ गते बुधवार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बुधवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताका लागि २१ दलका प्रतिनिधि निर्वाचन अधिकृतको कार्यालय आउने निर्वाचन आयोगले बताएको छ ।

मनोनयन दर्ताका लागि आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

बुधवार मनोयनन दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले छानबिनपछि यही माघ १५ गते चुनाव चिन्ह प्रदान गर्नेछ ।

प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसङ्ख्यकसहित आठ जनाका हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निवाचित हुने संवैधानिक प्रावधान छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा सङ्घीय संसद्को माथिल्लो सदन हो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २ हजार ५६ मतदाता छन् ।

उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीश राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन कतिपय राजनीतिक दलले चुनावी तालमेल गरी उम्मेदवार उठाएका छन् ।

Comments

ताजा खबर