उदयपुरको उदयपुरगढी गाउँपालिकामा विद्यालयमा पढाएर डेरा फर्किंदै गरेका शिक्षक मृत फेलापरेका छन्। उदयपुरगढी गाउँपालिका– २ बर्रेस्थित आधारभूत विद्यालय सातबोटका प्राथमिक शिक्षक ५१ वर्षका ईश्वरप्रसाद ढुंगाना शुक्रबार मृत फेलापरेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागोले उदयपुरगढी– ३ मै पर्ने माध्यमिक विद्यालय र बग्रेनी विद्यालयको बीचमा पर्ने लामपत्तेमा मृत फेलापरेका बताएका छन्। ‘
हिजो बिहीबार नै विद्यालय छाडेर हिँडेपछि विद्यालय परिवार र अभिभावकले शुक्रबार खोजी गर्दा मृत फेलापरेका हुन्’, फागोले भने, ‘शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से ल्याइएको छ, भने अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको टोली गएको छ।’ उदयपुरगढी– ६ नेपालटार घर भएका ढुंगाना विगत सात वर्षदेखि डेरा लिएर सातबोटमा बस्दै आएका थिए। विद्यालयबाट करिब ७०० मिटरको दूरीमा रहेको भीरबाट ३०० मिटर तल खसेको अवस्थामा उनको शव फेलापरेको स्थानीय ढकबहादुर राउतले बताए।