नेतालाई हिरासतबाट जिल्ला कारागार चलान

२०७४, १२ पुष बुधबार १०:००

नेत्रविक्रम चन्द बिप्लब  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो । सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको चुनाव जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप छ ।

यस्तै, मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उहाँका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर मुद्दा चलाइएको प्रहरील बताएको छ । अब उनीहरुलाई अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको उदयपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो ।

Comments

ताजा खबर