सांसद् चुनाव खर्च २० लाख

२०७४, ६ पुष बिहीबार १६:४४

नवलपरासी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सांसद् तिलक महतले निर्वाचनका समयमा भएको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । उनले निर्वाचन प्रचारका क्रममा २० लाख १७ हजार ५ सय खर्च भएको विवरण बुझाएका हुन् । निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने सीमा तोकेको छ ।

एमालेबाट निर्वाचित सांसद् महतका तर्फबाट सहयोगी नारायण तिमिल्सिनाले जिल्ला निर्वाचन कार्यालयमा चुनाव प्रचारका क्रममा भएको खर्च विवरण बुधबार बुझाएका हुन् । निर्वाचन आयोगमा चुनावको खर्च विवरण बुझाउने महत जिल्लाको पहिलो सांसद् बनेको छ  ।

निर्वाचन सकिएको १ महिनामा उम्मेदवारले खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्ने प्रावधान छ । महतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विष्णुबहादुर कार्कीलाई १५ सय ५४ मतान्तरले पराजित गरेका थिए ।

Comments

ताजा खबर