राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश असंवैधानिक

२०७४, ५ पुष बुधबार १९:०५

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश असंवैधानिक भएको दावी गर्दै अध्यादेश प्रमाणीकरण गर्न नमिल्ने जिकिर गर्नु भएको छ । उहाँले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएर विवादमा तान्नु संविधान विपरित हुने बताउनुभयो । उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनमत अनुसार छिट्टै सरकार बन्ने बताउनुभयो ।

उहाँले जनप्रतिनिधिहरुले इमानमा तलमाथि भए वा लापरवाही गरे सैहृय नहुने पनि बताउनुभयो । उहाँले अब बन्ने सरकारले भ्रष्टाचारविरुद्ध कडा रबैया अपनाउने र भ्रष्टाचारमा संलग्न पाइए नेता, कर्मचारी वा व्यापारी कसैलाई नछाड्ने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले सरकार र मन्त्रीहरुलाई हैसियत र मर्यादा बुझ्न चेतावनी समेत दिनुभयो । कार्यक्रममा नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले सरकार निर्माणमा अवरोध गर्नेलाई नछाड्ने चेतावनी दिनुभयो ।

उहाँले राष्ट्रियसभा गठन विवादका कारण सरकार गठनमा भएको विलम्ब तर्फ संकेत गर्दैे कुनै राजनीतिक सम्झौता गर्नु परे नयाँ सरकारले नै गर्ने बताउनुभयो । उहाँले चुनावी विजयसँगै जनताको लागि काम गरेर देखाउनुपर्ने चुनौती सँगै अवसर आएको बताउनुभयो । कार्यक्रममा एमालेका नेता माधव नेपालले पूरानो शैलीले देश नचल्ने भन्दै सरकार चलाउन मात्र नभएर पार्टी एक बनाउन पनि वाम गठबन्धनलाई जनमत प्राप्त भएको जिकिर गर्नुभयो ।

Comments

ताजा खबर