पद नछाड्न देउवालाई संविधानविद्को सुझाव

२०७४, १ पुष शनिबार २०:००

नेपाली कांग्रेस निकट कानून व्यवसायी र संविधानविद्हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । प्रधानमन्त्री देउवाले शनिवार साँझ कांग्रेस निकट कानून व्यवसायी र केही संविधानविद्हरुलाई बालुवाटार बोलाएर परामर्श लिएका थिए । राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक राष्ट्रपतिले रोक्न नहुने भन्दै संविधानविद्हरुले संवैधानिक पदमा रहेको व्यक्तिले कुनै दलको प्रभाव पर्न नहुने पनि तर्क गरे ।
सरकारले दुई महिना अगाडि नै प्रमाणिकरणका लागि पेश गरेको राष्ट्रिय सभा गठनसम्बन्धी विधेय रोकेर राष्ट्रपतिले गैरसंवैधानिक काम गरेको उनीहरुको भनाइ थियो ।

देउवासँगको छलफलमा कानून व्यवसायी तथा संविधानविद्हरुले राष्ट्रिय सभा गठन पछि मात्रै पद छाड्न सुझाव दिए ।
बालुवाटार पुगेका संविधानविद् पूर्णमान शाक्यले राष्ट्रिय सभा गठन पछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट संख्या बाँडफाँट हुने भएकाले राष्ट्रपतिले विधेयक रोक्न नुहने राय व्यक्त गरे । राष्ट्रिय सभाको गठन नगरी प्रतिनिधिसभाको समानुपातिकतर्फबाट उम्मेदवार चयन हुन नसक्ने व्यवस्था संविधानमा स्पष्ट रुपमा उल्लेख गरिएको उनको दावी थियो । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका कानून व्यवसायी हरिहर दाहालले राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक रोकेर राष्ट्रपतिबाट असंवैधानिक कार्य भएको बताए ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौलालगयत करिव १० जना कानून व्यवसायी र संविधानविद्हरु सहभागी थिए ।

Comments

ताजा खबर