सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

२०७४, २९ मंसिर शुक्रबार ०४:०५

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ । आइएइस लडाकूको नियन्त्रणमा रहेको एक गाउँलाई लक्ष्यगरी गरिएको यस कारबाहीमा परी मारिएका सर्वसाधारणमा आठ बालबालिका र छ महिला छन् l मारिएका ती सर्वसाधारण एकै भवनमा लुकेर बसेका संयुक्त परिवारका सदस्य रहेका थिए ।

सिरियामा आइएसले नियन्त्रण गरेको इलाकाहरुमा अमेरिका आवद्ध सुरक्षाबलले कारबाही गर्ने क्रममा सर्वसाधारणको ज्यान जाने गरेको छ । सन् २०१४ बाट सिरिया र इराकभरी अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा परी ८०१ सर्वसाधारणको मृत्यु भइसकेको छ ।सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहको पनि संलग्नता बढ्दै गएको बताइन्छ । जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म चार लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी जारी द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौँ आफ्नो देश र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

Comments

ताजा खबर