एक महिनाको अबधिमा १२ जनाको मृत्यु

२०७४, १८ मंसिर सोमबार ०४:०१

भाइरल ज्वरोका कारण एक महिनाको अबधिमा १२ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । छायाँनाथ नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका केही बस्तीमा कडा भाइरल ज्वरो फैलिएको छ । घरघरै बिरामी थला परेका छन् ।

भाइरल ज्वरोबाटै यो साता रिघा गाउँका ६५ बर्षीय बिउरासर पाण्डे, ४४ बर्षीय बिष्णु जैसीर ७५ बर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ बर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ । कार्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साटबाड गाउँका ५९ बर्षीय सिहबहादुर बुढा, खमाले कवाकी ४२ बर्षीय मागी रोकाया, पैखुगाउँका ५६ बर्षीय धनसिंह थापा र ६५ बर्षीय दलसुर थापाको मृत्यु भएको थियो । मंसिर पहिलो साता छायाँनाथ रारा नगरपालिकास्थित श्रीनगर गाउँकी ६५ बर्षीया कलादेबि मल्ल, इमा गाउँका ७५ बर्षीय बउदे खडा, ढुम गाउँकी ७२ बर्षीय लालशोभा बुढा र जउमति सेजुवालको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । कार्यालयका अनुसार सोरु गाउँपालिकाको नार्थपु जडेपानी गाउँका ६२ बर्षीय छत्तबहादुर मल्ल, फोतु लिब्रु गाउँकी ७० बर्षीय फुल्ती बुढा र ६० बर्षीय हरिनी दमाईको भाइरल ज्वरोले ज्यान गएको हो ।

नगरपालिकाको करिव तीन सय घरधुरी रहेको भामबाडा गाउँमा पनि अधिकांश घरमा बिरामी छन् । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिगंटा लाग्ने, बान्ता आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण बिरामीमा देखिने गरेका छन् । अधिकांशको उपचार अभावमा ज्यान गएको हो ।

भाइरल ज्वरो फैलिएका क्षेत्रमा स्वास्थ्य केन्द्र भएपनि औषधि नभएको स्वास्थ्यकर्मीको भनाइ छ । भाइरल ज्वरोले सबैभन्दा बृद्धबृद्धालाई असर गरेको कार्यालयले जनाएको छ ।

भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला अस्पतालबाट अहेव ज्ञानसिह बुढासहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित  प्रभावित क्षेत्रमा खटिएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । मौसम परिर्वतनसंगैको चिसो, फोहर वातावरण, दुषित खाना र पानीका कारण भाइरल ज्वरो फैलिएको चिकित्सकको भनाई छ ।

जिल्लामा महामारी नियन्त्रणका लागि निकासा भएको दुई लाख रकमको औषधि खरिद गरि प्रभावित क्षेत्रमा पठाइएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले बताए ।

 

Comments

ताजा खबर